नेपाली कांग्रेस नेपालगन्ज नगर सभापतिमा प्रशान्त विष्ट निर्वाचित भएका छन्। संस्थापन समूहका विष्ट तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। बिहीबार राति अबेर सम्पन्न मतगणनाअनुसार उनी दुई सय ४३ मतका साथ विजयी भएका हुन्। विष्टका निकटतम् प्रतिद्वन्द्वी उमा थापामगरले ७६ मत पाउँदा रिजालले ४१ मत पाएका छन्। थापामगर संस्थापनइतर समूहकी हुन् भने रिजाल संस्थापन पक्षका मानिन्छन्।
नेपालगन्ज नगर अधिवेशनमा पदाधिकारी सबैमा प्रशान्त विष्ट प्यानल विजयी भएका छन्। विष्ट प्यानलबाट उपसभापतिमा धनराज बर्मा र मो. कमाल अन्सारी विजयी भएका छन्। त्यस्तै, सचिवमा सुरेन्द्रकुमार श्रेष्ठ र हरिबाबु घिमिरे, सहसचिवमा मार्टिन वली क्षेत्री र शरदराज अधिकारी विजयी भएका छन्। बिहीबार भएको मतदानमा तीन सय ८२ मध्ये तीन सय ७७ मत खसेको थियो।
बैजनाथमा देवबहादुर खत्री निर्वाचित
नेपाली कांग्रेस बैजनाथ गाउँपालिकाको सभापतिमा देवबहादुर खत्री निर्वाचित भएका छन्। संस्थापन पक्षका खत्री ६८ मतका साथ विजयी भएका हुन्। संस्थापन पक्षकै केशर खड्काले ३९ मत पाउँदा अर्का उम्मेदवार रामबहादुर विष्टले २७ मत पाए। उपसभापतिमा सुरविक्रम शाह र गोपाल थारू निर्वाचित भएका छन्। शाहले ८३ र थारूले ७० मत पाए। यस्तै, सचिवमा टंकबहादुर बुढामगर र कृष्णबहादुर कुँवर निर्वाचित भए। मगरले ७३ र कुँवरले ६८ मत पाए। सहसचिवमा रूपा चौधरी र पवनकुमार पुनमगर निर्वाचित भएका सहायक मतदान अधिकृत रामबहादुर रावतले जानकारी दिए।
चार पालिकामा सर्वसम्मत पदाधिकारी चयन
बाँकेको चारवटा पालिकामा सर्वसम्मत पदाधिकारी चयन भएका छन्। डुडुवा, नरैनापुर, जानकी र खजुरा गाउँपालिकामा कार्यसमिति सर्वसम्मत चयन भएका हुन्। डुडुवा गाउँपालिका सभापतिसहित सबै पदमा एक–एकजनाको मात्र उम्मेदवारी परेपछि निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ।
डुडुवामा गाउँपालिका सभापतिमा विजयकुमार यादव निर्वाचित भएकाे मतदान अधिकृत हरिप्रसाद सुवेदीले जानकारी दिए। यसैगरी, नरैनापुर गाउँपालिकामा पनि कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। मतदान अधिकृत गोपाल गिरीका अनुसार नरैनापुर सभापतिमा मेराज अहमद खाँ, उपसभापति नितेशसिंह मौर्य र रामविलाश मौर्य, सचिवमा धर्मेन्द्र यादव र रामचन्द्र यादव, सहसचिवमा जगदीशप्रसाद कलवार र मन्नान अहमद अन्सारीसहित ३७ जनाको कार्यसमिति निर्विरोध निर्वाचित भएको गिरीले जानकारी दिए।
खजुरा गाउँपालिकामा पनि सभापतिसहित कार्यसमिति निर्विरोध भएको छ। खजुरा गाउँपालिका सभापतिमा रमेश सिजाली, उपसभापतिमा इरफान अहमद खाँ र भीमबहादुर सुनार, सचिवमा अर्जुनकुमार प्याकुरेल र रामजीप्रसाद पौडेल तथा सहसचिवमा मोहम्मद वकिल खाँ र सरिफ खाँ निर्विरोध निर्वाचित भएको मतदान अधिकृत महारूप जैसीले जानकारी दिए। खजुराबाट प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधि (अपांग)मा गणेशबहादुर बोहरा क्षेत्री निर्विरोध निर्वाचित भएका छन्।
जानकी गाउँपालिकामा उपसभापतिबाहेक अन्य सबैमा निर्विरोध भएको छ। मतदान अधिकृत पवन गुप्ताका अनुसार दुईजना उपसभापति पदमा तीनजनाको उम्मेदवारी दर्ता भएको थियो। सभापति पदमा दयाराम यादव (अहिर), सचिवमा कुलराज जोशी र टीकानाथ यादव तथा सहसचिवमा रत्नबहादुर थापा क्षेत्री र हमिद अली हल्वाई निर्विरोध निर्वाचित भएका छन्। उक्त पालिकामा १८ जना खुला सदस्य र समावेशीबाट आठजना सदस्य पनि निर्विरोध भएको मतदान अधिकृत गुप्ताले जानकारी दिए।