कर्मचारी सञ्चय कोषले जग्गा खरिदको लागि सञ्चयकर्तालाई सापटी प्रदान गर्ने भएको छ। ‘सञ्चयकर्ता सापटी कार्यविधि, २०७८’ स्वीकृत भएसँगै जग्गा खरिद सापटी कार्यान्वयनको बाटो खुलेको कोषको धनगढीस्थित कार्यालयका प्रमुख राजेन्द्रविक्रम केसीले बताए। कोषले यसअघि सञ्चयकर्तालाई घर खरिद गर्न तथा घर निर्माणका लागि सापटी दिने गरेकोमा अब जग्गा किन्नलाई समेत ५० लाख रुपैयाँसम्म सापटी दिनेछ।
यस्तै, कोषबाट प्राप्त हुने अन्य कुनै पनि सापटी उपयोग नगरेका सञ्चयकर्ताले धितोले बढीमा १५ वर्षको तलबबराबरको रकम सापटी प्राप्त गर्ने कार्यविधिमा जनाइएको छ। ब्याजदर ७.९० प्रतिशत तोकिएको सापटीका लागि खरिद गरिने जग्गा धितो राख्नुपर्नेछ।
हाललाई देशका मुख्य सहरी क्षेत्रमा यो सापटी लागू गर्न लागिएको जनाइएको छ। कोषको धनगढी शाखाको कार्यक्षेत्रअन्तर्गत कैलाली र कञ्चनपुरका बजार क्षेत्रमा सापटी प्रवाह गरिने धनगढी शाखाका प्रमुख केसीले जानकारी दिए। उनले भने, ‘सञ्चयकर्ताको मागको आधारमा तोकिएको मापदण्ड पूरा भएका अन्य क्षेत्रमा समेत क्रमशः सापटी विस्तार गर्ने योजना छ।’
कोषले जग्गा खरिदको लागि सापटी प्रदान गर्ने योजना गत भदौ ३१ मा सार्वजनिक गरे पनि कार्यविधि स्वीकृत नभएकोले कार्यान्वयनमा आउन सकेको थिएन। कोषले सञ्चयकर्तालाई घरनिर्माण तथा घर खरिद घर मर्मत सापटी, शैक्षिक सापटी, विशेष सापटी, सरल कर्जालगायतका सापटीसमेत उपलव्ध गराउँदै आएको छ।
यस्तै, सामाजिक सुरक्षाका कार्यक्रमअन्तर्गत काजकिरिया खर्च, औषधि उपचार शोधभर्ना, दुर्घटना क्षतिपूर्ति, प्रसूति खर्चलगायतका शीर्षकमा सञ्चयकर्तालाई सुविधा प्रदान गरिरहेको छ। कोषमा आवद्ध सञ्चयकर्ताबाट संकलन भएको स्रोतलाई उनीहरूकै हितमा परिचालन गर्ने उद्देश्यले यी सुविधा प्रदान गरिएको केसीले बताए। कोषमा करिब ६ लाख सञ्चयकर्ता आवद्ध छन्।