रौतहटमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

बिहिबार, २ मंसिर, २०७८
डिजिटल संस्करण

छुट्टाछुट्टै घटनामा परेर रौतहटमा दुईजनाको ज्यान गएको छ, जसमा एकजना बालक रहेका छन्। स्थानीय देवाही गोनाही नगरपालिका– ७ का अमोध पासवानका तीन वर्षका छोरा कुश पासवानको बुधबार साँझ नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

आमाबुबा खेतमा काम गरिरहेको वेला खेल्दै गर्दा बालक अचानक नहरमा खसेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए।

त्यसैगरी अर्का एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। गरुडा नगरपालिका–५ महम्मदपुरका गोती राय यादवका २६ वर्षीय छोरा नन्दकिशोर यादवको  करेन्ट लागेर मृत्यु भएको हो। विद्युतको तार लगेर मोटरबाट खेतमा पानी तान्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको  डिएसपी  भण्डारीले जानकारी दिए।

मृतक दुवैजनाको शव जिल्ला अस्पताल गौरमा पोस्टमार्टमपछि  सदगतका लागि परिवारको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

See More On

सुझावित समाचार