लामो समयदेखि रोकिएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन हुने भएको छ। उच्च अदालत तुलसीपुरले पत्र प्राप्त भएको एक महिनाभित्रमा आर्थिक प्रतिवेदन पारित गरी खानेपानीको निर्वाचन गर्न निर्देशन गरेको छ। सोहीअनुसार संस्थाको बैठकले यही मंसिर १४ गते पार्षद भेला गर्ने निर्णय गरेको छ। भेलाले आर्थिक प्रतिवेदन पारित गर्नेछ।
सोही भेलाले नै निर्वाचनको मिति तोक्ने संस्थाका कोषाध्यक्ष सीताराम शर्माले बताए। कात्तिक २५ गते संस्थामा पत्र आइपुगेकाले मंसिर २५ गते भित्रै निर्वाचन गर्नुपर्ने उनको भनाइ छ।
साथै निर्वाचनमा भाग लिनका लागि गएको आर्थिक वर्षको महसुल बुझाउन अनुरोध गरिएको छ। यदि कात्तिक १२ गतेसम्म खानेपानीको महसुल नबुझाएमा मताधिकार हुनेछैन । हाल खानेपानीका आठ हजार दुई सय धाराहरू छन्। संस्थाका ७१ जना पार्षदमध्ये ४१ जनाले बहिष्कार गरेपछि अदालतमा पूर्वकर्मचारी यमुना शाहले रिट दायर गरेकी थिइन्।
शाहले गएको फागुनमा बन्दसत्र नगरेर निर्वाचन गराउन लागेको भन्दै रिट दायर गरेकी थिइन्। त्यसपछि संस्थाको निर्वाचन प्रभावित भएको थियो । समयमा निर्वाचन नभएको र अदालत तथा अख्तियारसम्म मुद्दा परेको भन्दै संस्थाका अध्यक्ष खेमराज वलीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए। त्यसपछि कर्मचारीलाई तलब खुवाउनेदेखि अन्य काम गर्नका लागि जिल्ला प्रशासन कार्यालयले कोषाध्यक्ष र लेखा प्रमुखलाई जिम्मेवारी तोकेको थियो।
रिट निवेदन परेपछि गएको फागुन २२ गते तोकिएको निर्वाचन रोक्न अदालतले आदेश दिएको थियो।