ज्यानको बाजी लगाएर ‘महसिकार’

बिहिबार, २ मंसिर, २०७८
डिजिटल संस्करण

लमजुङका विभिन्न स्थानका डरलाग्दा ठाडो भिरपहरामा हुने महसिकार हेर्दैमा जति डरलाग्दो छ, सिकार गर्न पनि उत्तिकै गाह्रो छ । तैपनि निडर महसिकारीहरू आफ्नो ज्यानको बाजी लगाउँदै भिरपहरामा महसिकार गर्दै आइरहेका छन् । विश्वप्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्गसँगै लमजुङका विभिन्न पर्यटकीय सम्पदाले बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरिरहेका छन् । पछिल्लो समय महसिकार पनि पर्यटक आकर्षण गर्ने राम्रो माध्यम बनेको छ ।

लमजुङका ग्रामीण क्षेत्रका स्थानीय अहिले भिरमा रहेका भिरमह सिकार गरिरहेका छन् । आङै सिरिंग हुने अग्ला भिरपहरामा निडरका साथ महसिकारीहरूले मह काढेको दृश्य देख्दा आनन्द महसुस हुने बेंसीसहरकी स्मृति थापाले बताइन् । उनले भनिन्, ‘भिर माहुरीको सिकार गरेको कहिल्यै नदेखेकाको पहिलोपटक देख्दा अविष्मरणीय र रोचक बन्यो ।’ परापूर्वकालदेखि नै भिरपहरामा पाइने भिरमौरीको सिकार गर्न गाउँलेको हानाथाप चल्ने गरे पनि अहिले त्यस्ता महसिकारी भेट्टाउनै मुस्किल हुने स्यागेका पर्यटन व्यवसायी नरबहादुर गुरुङले बताए । महसिकारको सिजन सुरु भएसँगै जिल्लाका भिरपहराहरूमा महसिकार सुरु भएका छन् । परापूर्वकालदेखि ग्रामीण भेगमा बसोवास गरेका गुरुङ समुदायका मानिसको आम्दानीको स्रोत बन्ने गरेको महसिकार पछिल्ला वर्षहरूमा भने पर्यटक लोभ्याउने आकर्षण बन्ने गरेको छ ।

लमजुङमा सामान्यतयाः प्रत्येक वर्ष वैशाख, कात्तिक र मंसिर महिनामा भिरमाहुरीको महसिकार गर्ने गरिन्छ । महसिकार लमजुङका गुरुङ समुदायको परम्परागत पेसा पनि हो । सामग्री उपलब्ध गराए सीप हस्तान्तरण र भिरपहरामा रहने मौरीको संरक्षण गर्न सकिने महसिकारी बुद्धिबहादुर गुरुङको बुझाइ छ । ज्यानको बाजी थापेर महसिकारीहरूले गर्ने महसिकार स्थानीयलाई आयआर्जन र साहसिक पर्यटकहरूका लागि गन्तव्यको रूपमा स्थापित हुँदै गएको घनपोखराका महसिकारी भक्तबहादुर गुरुङ बताउँछन् ।  

‘हनी हन्टिङ’ अर्थात् महसिकार आजभोलि पर्यटकका लागि नौलो र आकर्षणको विषय बन्दै गएको छ । महसिकार गर्ने प्रचलन धेरै पुरानो रहे पनि पर्यटक आकर्षकका लागि ‘हनि हन्टिङ फेस्टिभल’का रूपमा पहिलोपटक ०६३ मा लमजुङको ताघ्रिङस्थित काप्रेभिरमा गरिएको थियो। त्यसपछि धेरै गाउँमा पर्यटक आकर्षणका रूपमा महसिकार हुने गरेको थियो। गाउँमा युवा जनशक्तिको अभाव हुन थालेपछि वृद्धहरूले नै महसिकार धान्दै आएका छन् । लमजुङको सिऊरुङ, पसगाउँ, घनपोखरा, खुदी, ताघ्रिङ, भुलभुले, भुजुङ, नाइचे, दूधपोखरीलगायतका भिरपहराहरूमा भिरमौरीहरु प्रशस्त पाइन्छ । झन्डै एक हजार पाँच सयदेखि दुई हजार पाँच सय मिटरको उचाइका पहरामा भिरमौरीले घार बनाउने गर्दछ ।
 

See More On

सुझावित समाचार