स्वास्थ्य सेवातर्फ प्रमुख विशेषज्ञ पदका लागि पाँचजनाको नाम सिफारिस

मंगलबार, ३० कार्तिक, २०७८
डिजिटल संस्करण

स्वास्थ्य सेवातर्फको रिक्त तीन प्रमुख विशेषज्ञ पदका लागि पाँचजनाको नाम सिफारिस भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार लोकसेवा आयोगका सदस्यको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले रिक्त तीन पदका लागि पाँचजनाको नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेमा पहिलो नम्बरमा डा. श्यामसुन्दर यादव, दोस्रोमा डा. भीमसिंह तिंकरी, तेस्रोमा डा. श्रीकृष्ण श्रेष्ठ, चौथोमा डा. संगीता मिश्रा र पाँचौँमा डा. गुणराज लोहनी छन् । ज्येष्ठता, कार्यसम्पादन, दुर्गम सेवाका आधारमा उनीहरूको नाम सिफारिस गरेको हो । सिनियरका आधारमा भन्दा पनि यादव, श्रेष्ठ र मिश्रा दुर्गमको नम्बरले उत्कृष्ट पाँचभित्र परेको समितिका एक सदस्यले बताए ।

आगामी मन्त्रिपरिषद् बैठकले सिफारिस पाँचमध्ये तीनजनालाई १२औँ तहमा बढुवा गर्नेछ । स्वास्थ्य सेवाअन्तर्गत १२औँ तहमा मन्त्रालयमा दुई र वीर अस्पतालमा एकजनाको दरबन्दी रिक्त छ । यसअघि डा.रोशन पोखरेल स्वास्थ्य सचिवमा बढुवा भएका थिए । त्यस्तै, प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले अनिवार्य अवकाश पाएपछि मन्त्रालयभित्रै दुई दरबन्दी रिक्त छ । सरकारले वीर अस्पतालमा हालै प्रमुख विशेषज्ञको दरबन्दी राखेको हो । 

सुझावित समाचार