कालिकोटको लार्फा गाउँमा खानेपानीको चरम अभाव

मंगलबार, ३० कार्तिक, २०७८
डिजिटल संस्करण

कालिकोटको पलाँता गाउँपालिका– २ लार्फा गाउँकी अनमी विश्वकर्मा झिसमिसेमै उठेर खानेपानीको लाइन बस्न थालेको वर्षौँ भयो । झिसमिसेमै गाग्री, पानी भर्ने अरू केही भाँडा बोकेर हतार–हतार धारासम्म दौडने उनी घन्टौँ कुरेर बल्लतल्ल पानी भर्ने पालो पाउँछिन् । सानो कालो पाइपमा धेरै परबाट ल्याइएको धारामा पानी थाप्न अनमीजस्ता तीन दर्जनभन्दा बढी महिला र पुरुषको दिनहुँ रस्साकस्सी चल्छ । थोरै ढिला आउँदा पनि कहिले त रित्तै हात घर फर्किनुपर्छ । एक बिहान कुरेपछि रित्तै फर्कनुपर्दाको पीडाका कारण अधिकांश समय स्थानीयबीच झगडासमेत पर्ने गरेको छ । 

लार्फाका स्थानीयले यस्तो समस्या भोग्न थालेको वर्षौँ भयो । गाउँमा पानीको भरपर्दो स्रोत छैन । त्यसैले चरम अभाव छ । वर्षामा आकासे पानी परिरहने भएकाले धेरैले राहत पाउँछन् । कतिपयले आकासे पानी जम्मा गरेर पनि जोहो गर्छन् । लगातार पानी परिरहँदा पानीका मूल पनि बढी हुने र स्थानीय ससाना खोल्साखोल्सीमा पनि पानी हुने भएकाले हिउँदमा जस्तो चरम अभाव हुँदैन । तर, हिउँद लागेसँगै उनीहरूको दैनिकी नै फेरिन्छ ।

‘वर्षा रोकिन थालेपछि हामीले ज्यादै ठूलो समस्या भोग्नुपर्छ । पानी नखाई बाँच्न सकिँदैन । सजिलैसँग खान गाउँमा पानीको भरपर्दो स्रोत छैन,’ अनमीले नयाँ पत्रिकासँग दुःख बिसाइन्, ‘यसपटक पनि हिउँद सुरु नहुँदै लार्फा गाउँमा खानेपानीको चरम अभाव सुरु भइसकेको छ ।’ अनमीले सुनाएजस्तै दृश्य केही पर रहेको खानेपानी भर्ने धारामा स्पष्ट देखिन्छ । 

‘पानी भर्नका लागि बिहान झिसमिसेमै उठेर आउनुपर्ने र लामो लाइन कुर्नुपर्ने बाध्यता छ । गाउँमा खानेपानीको एउटा मात्र धारा छ । त्यही धाराको पानीले सबै गाउँले र गाईबस्तुको तीर्खा मेट्नुपर्छ । खानेपानी नै नपुग्ने गाउँमा अन्य प्रयोजनका लागि पानीको कल्पना पनि गर्न सकिने अवस्था छैन,’ उनले भनिन् । पानीकै विषयले अधिकांश समय स्थानीयबीच झगडा हुने गरेको उनले सुनाइन् । भनिन्, ‘खानेपानीको विषयले सधैँ गाउँमा झगडा हुने गरेको छ । गाउँमा कलहको बिउ नै पानी बनेको छ ।’

खानेपानीको धारामा लाइन लाग्दै गरेको अवस्थामा भेटिएका अर्का स्थानीय जितन विकले पनि हरेक वर्षको हिउँदमा खानेपानीको चरम अभाव झेल्दै आएको बताए । ‘यत्रो गाउँमा खानेपानीको एउटा मात्र धारा छ । त्यो पनि हिउँदयाममा सुक्छ, पानी आउँदैन । पानीको जोहो गर्नमै अभिभावकहरूको दिन बित्छ,’ उनले सुनाए । 

स्थानीय सरकारबाट निराश
झन्डै चार वर्षअघि गाउँघरमै स्थानीय सरकार आउने भयो भन्ने सुनेपछि लार्फाका स्थानीय पनि खुसी भए । गाउँमै सरकार आएपछि आफूहरूले वर्षौँदेखि भोगेको खानेपानीको समस्या समाधान होला भन्ने उनीहरूले ठानेका थिए । तर, यथार्थमा त्यस्तो हुन सकेन । ‘यो गाउँमा समस्या समाधानका लागि अहिलेसम्म कसैले पहल गरेजस्तो लाग्दैन । पहल गरेको भए त लामो समयदेखि हाम्रो गाउँमा पनि खानेपानीका धारा जडान हुन्थे होलान्, हामीले सहजै खानेपानी पाउँथ्यौँ होला,’ अनमीले नयाँ पत्रिकासँग स्थानीय सरकारको अनुभूति गर्न नसकेको तितो पोखिन् । 

जितन विकले पनि गाउँमै सरकार आएपछि खानेपानीको समस्या समाधान हुने आशा गरेका थिए । तर, पालिकाहरूको निर्वाचन भएको चार वर्ष पूरा भइसक्दा पनि गाउँमा खानेपानीको समस्या समाधान भएको देख्न पाएका छैनन् । उनले खानेपानीको समस्या समाधानका लागि स्थानीय सरकारले पनि कुनै पहल नगरेको गुनासो गरे । ‘हामीलाई गाउँमा खानेपानीबाहेक अहिले अरू केही चाहिएको छैन,’ उनले भने, ‘पानी भर्नकै लागि दिन बिताउनुपर्ने समस्या समाधान हुने थियो । तर, हाम्रो समस्या समाधान गर्न कसैले पहल गरेका छैनन् ।’

वडाध्यक्ष भन्छन्– एक महिनामा घरघरमा धारा पुग्छ
पताला गाउँपालिका– २ का वडाध्यक्ष बिरी विकले भने एक महिनाभित्र लार्फा गाउँका प्रत्येक घरमा खानेपानीको धारा पुग्ने दाबी गरे । अहिले गाउँपालिका र गैरसरकारी संस्था हुरुन्डेक नेपालले खानेपानीको समस्या समाधान गर्न संयुक्त काम गरिरहेको उनले बताए । ‘अबको एक महिनाभित्र गाउँमा खानेपानीको धारा जडान हुन्छ,’ उनले भने, ‘लार्फा गाउँका एक घरमा एक धारा निर्माणको अन्तिम तयारी भइरहेको छ ।’

गाउँमा प्रत्येक घरमा खानेपानीको धारा जडान भएपछि लामो सयमदेखि गाउँलेले भोग्दै आएको प्रमुख समस्या समाधान हुने वडाध्यक्ष विकले दाबी गरे । ‘मार्फाका स्थानीयले वर्षौँदेखि खानेपानीको अभाव झेल्दै आएका छन् । यहाँ खानेपानीको समस्या दीर्घकालीन बनेको छ । तर, गाउँपालिका र हुरुन्डेक नेपालले संयुक्त रूपमा खानेपानीको समस्या समाधानमा काम गरिरहेका छन् । एक महिनाभित्र समस्या समाधान हुन्छ । त्यसपछि गाउँलेले ठूलो समस्याबाट मुक्ति पाउनेछन्,’ उनले भने । 

सुझावित समाचार