संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले प्रशासकहरू व्यावहारिक बन्नुपर्ने बताएका छन्। सोमबार कर्मचारी प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको नवनियुक्त सह–सचिवहरूका लागि नेतृत्व विकास कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले निजामती सेवाका प्रशासक व्यावहारिक बन्नुपर्नेमा जोड दिएका हुन्।
उनले समाज परिवर्तनशील रहेको उल्लेख गर्दै अघिल्लो पुस्ताले लिएका नीति ठीक भए कार्यान्वयन गर्ने र समयअनुसार परिवर्तन भएका विषयलाई सोहीअनुरूप काम गर्न सहसचिवलाई आग्रह गरे। सैद्धान्तिक मात्रै नभई व्यावहारिक बन्ने प्रशासक नै असल प्रशासक हुने भन्दै उनले राष्ट्रसेवक कर्मचारी व्यावहारिक, धैर्यवान र लगनशील हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘तपाईंहरूले पनि प्रशासनिक क्षेत्रमा आजसम्म सिद्ध भएका भनेर मुख्यसचिवज्यू, सचिवज्यू वा तपाईंहरूभन्दा अघिल्लो पुस्ताले जे–जे कुराहरू भन्नुभएको छ, ती कुराहरू ठीक छन् भने कार्यान्वयन गर्ने । कतिपय कुराहरू सामाजिक विज्ञानमा परिवर्तन भएरै रहन्छन्। परिवर्तित स्थितिमा यो कुरा यसरी गर्नुपर्छ भन्ने भयो भने त्यसलाई नयाँ ढंगले नवप्रवर्धन गरेर जानुपर्ने हुन्छ । सिद्धान्तलाई व्यवहारसँग तादम्यता मिलाएर मात्रै असल प्रशासक बन्न सक्दछ। असल प्रशासकले सिद्धान्त मात्रै होइन व्यावहारिक बन्ने, धैर्यवान बन्ने, आफ्नो काममा दत्तचित्त, लगनशील बन्ने र उदाहरणीय काम पनि गर्ने । यी कुराहरू हुनुपर्छ जस्तो मलाई लाग्छ ।’
उनले नवनियुक्त सहसचिवहरुलाई आफूमातहतका कर्मचारीहरूलाई पक्षपातपूर्ण व्यवहार नगरीकन काम लगाउन पनि आग्रह गरे। कतिपय कर्मचारीमा आफूलाई प्रशासक ठानेर सबै काम अरूलाई लगाउने प्रवृत्ति रहेकोले त्यस्तो प्रवृत्तिको अन्य गर्नुपर्ने उनले बताए। श्रेष्ठले प्रविधिमैत्री भएर काम गर्न पनि निर्देशन दिए ।