कांग्रेस महाधिवेशन : बाँकेका ५२ वडामा पदाधिकारी र प्रतिनिधि निर्विरोध चयन

आइतबार, २८ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बाँकेको ८१ मध्ये ५२ वडामा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्विरोध चयन भएका छन्। करिब ६० प्रतिशत वडामा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्विरोध चयन गरिएको निर्वाचन परिचालन समितिका सदस्य वीरेन्द्र यादवले जानकारी दिए।

यादवका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका २३ वडामध्ये १७ वटामा निर्विरोध भएको छ। वडा नम्बर ३, ४, ५, ७,  ८, १०, ११, १२, १५, १६, १७, १८, १९, २०, २१, २२,  र २३ मा निर्विरोध भएको हो। वडा नं. १३ मा वडा समिति निर्विरोध चयन भए पनि क्षेत्रीय प्रतिनिधिमा सहमति हुन नसकेपछि आज मतदान हुने भएको छ। ‘कुनै–कुनै वडामा वडा समिति निर्विरोध भए पनि क्षेत्रीय प्रतिनिधि चयन गर्न बाँकी छ,’ यादवले भने।

यसैगरी नरैनापुर गाउँपालिकाको ६ वटा वडामध्ये चारवटामा निर्विरोध भएको छ। यहाँ वडा नम्बर १, ३, ४ र ५ मा निर्विरोध भएको हो। जानकी गाउँपालिकाको वडा नम्बर १ र ५ मा पनि वडा समिति र क्षेत्रीय प्रतिनिधि चयनको काम पूर्ण रूपमा सम्पन्न भएको छ। वडा नम्बर ६ मा वडासभापतिबाहेक अन्य सबै पदमा निर्विरोध भएको यादवले जानकारी दिए।

खजुरा गाउँपालिकाका ८ मध्ये ६ वटा वडामा निर्विरोध भएको छ। यादवका अनुसार खजुराको वडा नम्बर १, २, ५, ६, ७ र ८ मा निर्विरोध भएको हो। डुडुवा गाउँपालिकाको १ देखि ६ सम्मका पुरै वडामा निर्विरोध भएको छ। राप्ती सोनारीको ९ वटा वडामध्ये ५ वटामा निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ। यादवका अनुसार राप्ती सोनारीको वडा नम्बर १, ३, ५, ७ र ९ मा निर्विरोध भएको हो।
 
यस्तै, कोहलपुर नगरपालिकाको १५ वटा वडामध्ये ५ वटामा निर्विरोध भएको छ। कोहलपुरको वडा नम्बर १, ४, ७, ९ र १५ मा निर्विरोध भएको हो। बैजनाथ गाउँपालिकामा रहेका आठमध्ये सातवटामा निर्विरोध भएको छ। उक्त गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ मा निर्विरोध भएको यादवले जानकारी दिए।

जिल्लाभरि नै निर्वाचन कार्यक्रम शान्तिपूर्ण रूपमा भएको जिल्ला सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले बताए। निर्विरोध हुन नसकेका बाँकी २९ वटा वडामा आज आइतबार मतदान भइरहेको शाहीले बताए। बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म हुनेछ। वडा र क्षेत्रीय प्रतिनिधि छनोटको काम सकिएपछि १ मंसिरमा पालिका, ४ मंसिरमा प्रदेश सभा, ७ मंसिरमा क्षेत्र र ११ मंसिरमा जिल्लाको निर्वाचन गर्ने कांग्रेसको कार्यतालिका छ।

सुझावित समाचार