पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ६ विद्यार्थी संगठन आन्दोलनमा

बिहिबार, २५ कार्तिक, २०७८
डिजिटल संस्करण

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा ६ विद्यार्थी संगठनले संघर्ष गर्ने भएका छन् । ६ विद्यार्थी संगठनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिनसमेत माग गरेका छन् ।

ज्ञापनपत्र बुझाउनेमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादीनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, जसपानिकट समाजवादी विद्यार्थी संघका अध्यक्ष रूपनारायण श्रेष्ठ, नेकपा क्रान्तिकारी माओवादीनिकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, नेकपानिकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र राष्ट्रिय जनमोर्चानिकट अखिल छैटौँका देवेन्द्र कुँवर छन् ।

‘नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोलमा ३ रुपैयाँ, डिजेलमा ३ रुपैयाँ, मटितेलमा ३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र एलपी ग्यासमा ७५ रुपैयाँ मूल्यवृद्धि गरी जनताको आधारभूत आवश्यकताप्रति गैरजिम्मेवार बनेको तथ्यप्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’ ६ विद्यार्थी संघले ज्ञापनपत्रमा भनेका छन्, ‘मूल्य समायोजन भन्ने बाहनामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाई आयल निगमलगायतका सरकारी निकायहरूले चुहावट नियन्त्रण नगरी जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रूपमा गाँसिएका वस्तुहरूमा मूल्यवृद्धि गर्दै आफ्ना निकाय र भ्रष्ट कर्मचारीको मनोमानीलाई लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी पटक–पटक मूल्यवृद्धि गर्ने कदमप्रति संयुक्त विद्यार्थी संगठन खेद व्यक्त गर्न चाहन्छ ।’

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले फिर्ता नलिए २६ कात्तिकको बिहान ९–११ बजे आयल निगमका महाप्रबन्धकलगायत कर्मचारीलाई प्रवेश निषेध तथा घेराउ गर्ने २८ कात्तिकमा प्रदर्शनी मार्गमा दिउँसो २ बजे खाली सिलिन्डर प्रदर्शन गर्ने चेतावनी विद्यार्थी संगठनहरूले दिएका छन् । त्यस्तै, ३० कात्तिकमा देशभर आयल निगमको कार्यालयमा कालो ब्यानर राखी विरोध गर्ने र २ मंसिरको २ बजे माइतीघर मण्डलामा सड़क बहस गर्ने उनीहरूले जनाएका छन् ।

सुझावित समाचार