नेपालको पशुपतिनाथदेखि भारतको काशी विश्वनाथसम्म मोटरसाइकल र्याली सुरु भएको छ। पशुपतिका मूल भट्टको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज ‘पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्याली’को संयुक्त रूपमा शुभारम्भ गरेका हुन्।
कार्यक्रममा मन्त्री आलेले भारत र नेपालबीचको सदियौँ पुरानो सांस्कृतिक सम्पदा र सभ्यताको सम्बन्धबारे उल्लेख गर्दै र्यालीमा सहभागीहरूलाई यात्राको सफलताको शुभकामना दिए । नेपाल र भारतका जनताबीचको सम्बन्धलाई उजागर गर्दै पारस्परिक सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन र्याली आयोजना गरिएको भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मोटरसाइकल र्यालीमा करिब ५० भारतीय तथा नेपाली मोटरसाइकलप्रेमीले सहभागिता जनाएका छन्। र्यालीमा सहभागीहरूले कात्तिक २७ गते वनारसमा अवस्थित काशी विश्वनाथ मन्दिरको भ्रमण गरी सरसफाइ एवं स्वच्छताको सन्देश फैलाउन दशाश्वमेधघाटमा पूजा गरी स्वच्छता श्रमदान अर्पण गर्ने बताइएको छ।
र्याली महात्मा गान्धीले भारत स्वतन्त्र संग्रामको वेला चम्पारण सत्याग्रह आरम्भ गरेको स्थान मोतिहारी, भगवान् बुद्धले पहिलो प्रवचन दिएको स्थल सारनाथ, भारत र नेपालका धर्मावलम्बीहरूको एक प्रख्यात धार्मिक स्थल गोरखनाथ मठजस्ता विभिन्न ऐतिहासिक स्थल हुँदै अघि बढ्नेछ।