केपी ओलीको आह्वान–नकारात्मक प्रवृत्तिलाई एकताबद्ध भएर परास्त गरौँ

शुक्रबार, १९ कार्तिक, २०७८
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले नकारात्मक प्रवृत्तिलाई एकताबद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न आह्वान गरेका छन् । तिहारको अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले भनेका छन्, ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा साकार पार्ने अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा सामाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरूलाई एकताबद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्नसमेत म सबैमा आह्वान गर्दछु ।’

ओलीले सरकारको नेतृत्वमा रहँदा एमालेले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकको विकास र समृद्धिको नेतृत्वदायी भूमिका निर्वाह गरेको जिकिर गरेका छन् । देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्र्न नयाँ संविधानअनुरूपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा मुलुकलाई नवनिर्माणको चरणमा प्रवेश गराएको उनको दाबी छ । 

चाडबाडका नाममा हुने गरेका नकारात्मक पक्षहरूलाई हटाउन आवश्यक रहेकोमा उनले जोड दिएका छन् । उनले भनेका छन्, ‘औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजुल खर्चमा हौसिनेजस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् । यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वहरूलाई मितव्ययी र उचित बनाउन हामी सबै सजग र सचेत रहनु आवश्यक छ ।’

सुझावित समाचार