कुनै एक व्यक्तिले चाहँदैमा एमाले सकिँदैन : केपी ओली

बिहिबार, १८ कार्तिक, २०७८
डिजिटल संस्करण

एमालेका अध्यक्ष केपी ओलीले कोहीले चाहँदैमा एमालेलाई सिध्याउन नसक्ने दाबी गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले कुनै एक व्यक्तिले चाहँदैमा एमाले सिध्याउन नसक्ने बताएका हुन् । 

उनले कांग्रेस युवा नेता गगन थापालाई लक्षित गर्दै भ्याकुम लगाएर एमाले सक्ने सपना नदेख्न चेतावनी दिए । ओलीले कांग्रेस कहाँ पुग्यो भन्ने विचार गर्न आग्रह गरे । 

उनले भने, ‘एकजना बाबुले भ्याकुम लिएर भक्तपुरतिर आउने र भ्याकुम क्लिनरबाट एमाले सिध्याउने कुरा गरेछन्, भ्याकुम क्लिनर ल्याएर एमाले सक्ने रे, विचरा, एमाले सिध्याउने भ्याकुम क्लिनर रे, सिंगै कांग्रेस कहाँ गयो ? भ्याकुम क्लिनर रे एमाले सिध्याउने सपना तिनीहरूका, म त्यसमा अरू केही भन्न चाहन्नँ ।’

ओलीले नेपाललाई कुरुक्षेत्र बनाउने सपना नदेख्न पनि आग्रह गरे । ओलीले भने, ‘एकजनाले अस्ति कुरुक्षेत्र बन्छ अब भने, कुरुक्षेत्र बनाएको पनि देखियो, कुरुक्षेत्र सबै ठेगान पनि लगाइयो, अब कसैले कुरुक्षेत्रका धाक नलगाए हुन्छ, नेपाल नै अब धर्मक्षेत्र हुन्छ, विकासक्षेत्र हुन्छ, यो शान्तिक्षेत्र हुन्छ, यो जनताको समृद्धिको क्षेत्र हुन्छ, समृद्ध नेपाल सुखी नेपाली भएको क्षेत्र हुन्छ नेपाल, के को कुरुक्षेत्र ? कुरुक्षेत्र बनाउने भनेर कतिले धाक लगाएका छन्, के भनेको कसलाई तर्साएको अहिले ? हामीले कुरुक्षेत्र बनाएको हेर्यौं, सत्र हजार मान्छे मारेको हेर्यौँ, ढुंगामा राखेर बञ्चरोको पासोले मान्छेको हड्डी फोरेको पनि हेर्यौँ, काठ घोच्ने बर्माले मान्छेको शरीरमा घोपेको पनि हेयौँं, ती सबै अत्याचार पराजित गरेर हामी आएका छौँ, त्यसैले हामीलाई कुरुक्षेत्रको धाक नलगाए पनि हुन्छ, हामी त्यस्ता कुराको वास्ता पनि गर्दैनौँ, हामीलाई देश बनाउने कुरासँग सरोकार छ, उहाँको मनस्थिति एकदमै डगमगाएछ, गणतन्त्रै फाल्छु भन्यो ओलीले भन्नुभएछ, पुष्पकमल दाहालले गणतन्त्र भन्नुभन्दा २५ वर्षअघि हामीले गणतन्त्रको अभियान थालेका थियौँ ।’

ओलीले आफूलाई माओवादी अध्यक्ष प्रचण्डले गणतन्त्र सक्न खोजेको आरोप लगाएकोप्रति लक्षित गर्दै प्रचण्डले गणतन्त्रको नाम लिनुभन्दा २५ वर्षअघि गणतन्त्रका लागि आफू लडेको बताए । उनले प्रचण्डलाई कुरुक्षेत्रको धाक नलगाउन पनि आग्रह गरे ।

सुझावित समाचार