नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष लोक चेम्जोङसँग गरिएको कुराकानी :
कोरोना महामारीपछि अमेरिकामा रहेका नेपाली समुदायको अवस्था कस्तो छ ?
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस अझै हटिसकेको छैन । तर, अहिलेको अवस्था भने सामान्य भइसकेको छ । मानिसहरू रोजगारीमा फर्किसकेका छन् । जनजीवन सहज बन्दै गएको छ । साना तथा मझौला व्यवसायीहरूलाई भने कोरोना महामारीले समस्यामा परेको छ । प्रक्रिया मिलेकालाई त सरकारले हेरेको छ, तर कतिपय अवस्थामा प्रक्रिया नमिलेकाले सरकारी सुविधा पाएका छैनन् । प्रक्रिया नमिलेकै कारण सहुलियत ऋण नमिलेको अवस्था पनि छ । खासगरी होटेल, रेस्टुरेन्ट, इन्टरटेनमेन्ट, शृृंगारको क्षेत्रमा बढी असर गरेको देखिन्छ ।
ठ्याक्कै कति समस्यामा परे भन्ने कुनै तथ्यांक छ ?
ठ्याक्कै त्यस्तो तथ्यांक त छैन । पहिलो कुरो त अमेरिकामा नेपालीमूलका व्यवसायी कम नै छन् । केहीले व्यवसाय राम्रै जोगाएका पनि छन् । केही समस्यामा परेको देखिन्छ । कोरोना महामारीको सबैभन्दा बढी असर एफ वान स्टुडेन्टमा देखियो । अमेरिकामा नेपालीमूलका अनिल लिम्बू (मेरो मामा पर्नुहुन्छ) को कोरोनाका कारण पहिलोपटक मृत्यु भयो । हस्पिटलमा उपचारको क्रममा उहाँले ज्यान गुमाउनुभयो । अन्य केहीको पनि ज्यान गयो । तुलनात्मक रूपमा अमेरिकामा नेपाली समुदायमा मानवीय क्षति त्यति धेरै भएको छैन । तर, कोभिड संक्रमणचाहिँ प्रायःलाई भयो । पहिलो लहरमा धेरै मानिस आत्तिए, आत्तिएका कारण हस्पिटल गएको मान्छे लगभग नफर्कने स्थिति पनि थियो । दोस्रो लहरमा धेरै मानिस सचेत भए । नेपालीहरूमा इम्युन पावरले गर्दा पनि होला मानवीय क्षति त्यति धेरै भएन । न्युयोर्क कोरोनाको इपिसेन्टर थियो । हामी बसेकै ठाउँमा रहेको एलमोस्ट अस्पताल इपिसेन्टरको पनि इपिसेन्टर । त्यहाँ लाइभ नै देखियो । अवस्था भयानक नै थियो ।
कोरोना महामारी फैलिँदै गर्दा सबै घरभित्रै बसेको वेला तपाईंहरू फिल्डमै उत्रिनुभयो, राहत लिएर घरदैलोमै पुग्नुभयो । घरमा बसेर हुँदैन सेवामा खटिनुपर्छ भन्ने भावना कसरी आयो ?
नेपालीहरू स्वभाविक हिसाबले सहयोगी हुँदारहेछौँ । त्यसमाथि सामाजिक संघसंस्थाको पहिलो उद्देश्य भनेको मानवीय सेवा नै हो । मर्दापर्दा सहयोग गर्ने उद्देश्यले नै हामीले संस्था बनाएका हौँ । बाँकी कुरा त त्यसपछिका हुन् । त्योभन्दा महासंकट दुनियाँमा केही हुँदैन, संकटको वेला सेवा गर्छु भनेर खोलिएको संस्थाका पदाधिकारी लुकेर बसेर त हुँदैन भन्ने लागेर नै हामी फिल्डमा उत्रिएका हौँ । सहज अवस्थामा त जसले पनि गर्छ समाजसेवा भनेकै संकटमा चुनौतीको सामना गरेर अगाडि बढ्ने हो । संकटको वेला हामीले बाहिर निस्कने एक खालको निधो ग¥यौँ । हिम्मत पनि ग¥यौँ । समाजसेवाप्रति भित्रै देखिको लगावका कारण हामी फिल्डमा उत्रियौँ । प्रचारको हिसाबले भन्दा पनि अरूलाई परेको दुःख हामी देख्न सक्दैनौँ भन्ने हिसाबले लागेका हौँ । कोरोना महामारी सुरु हुँदा अमेरिकामा मास्कको चलन नै थिएन । पसलहरूमा मास्क पाइँदैन थियो । मास्क लगाउनुपर्ने अवस्था आइदियो तर मास्क छैन । मास्क औषधि बाँडेको जसरी बाँडियो । डाक्टरले जुममा भन्छ–ज्वरो टाइमटाइममा नापिराख्नुस्, तापक्रम कस्तो छ हेर्नुस, हटबिट चेक गर्नुस् । तर, थर्मोमिटर नै छैन । कोभिडको सुरुवातको अवस्थामा हामीले मास्क, थर्मोमिटरलगायतका स्वास्थ्य सामग्री निःशुल्क वितरण ग¥यौँ । संख्यात्मक रूपमा थोरै भए पनि त्यो अवस्थामा त्यसको निकै ठूलो महत्व थियो । थोरै संख्याले धेरै ठाउँमा काम गर्नुपर्ने अवस्था थियो । बालबच्चा, वृद्धवृद्धा र दीर्घरोग भएकाहरू अझै जोगिनुपर्छ भन्ने थियो । हामी युवा आँट गरेरै फिल्डमा निस्केका हौँ ।
महामारीको वेलामा अमेरिकास्थित नेपाली संघसंस्थाको समन्वयकारी भूमिका कस्तो रह्यो ?
नेपाली दूतावास, फिप्नाका १९ वटा सदस्य संस्था, विभिन्न राजनीतिक संस्था, एनआरएनलगायतको एकल र संयुक्त प्रयासमा धेरै काम भए । जसले जुन ठाउँबाट जे सक्छ, त्यसले त्यही गर्ने भन्ने हिसाबले काम भयो । दोस्रो चरणमा आइपुग्दा कतिपयलाई नेमफेमको भाव पनि पलायो होला । शव व्यवस्थापनमा हामीलाई निकै समस्या भएको थियो । हस्पिटलभित्र हामीलाई छिर्न दिँइँदैनथ्यो, शव कहाँ हुन्छ थाहा हुँदैन थियो । त्यस्तो अवस्थामा हामीलाई धेरैले सहयोग गर्नुभयो । विशेषगरी, प्रदेश सभासद ह्यारी भण्डारीले ठूलो सहयोग गर्नुभयो । त्यसले अलपत्र परेको शव व्यवस्थापन गर्न सहज भयो । उहाँका कारण हामीलाई धेरै ठूलो सहयोग भयो । नेपालीहरू ओहोदामा पुग्नुपर्ने रहेछ भन्ने महसुस भयो ।
अत्यासकै स्थिति थियो होइन ?
स्वभाविक रूपमा । पारिवारिक रूपमा के गर्ने, कसो नगर्ने भन्ने नै भयो । आर्थिक हिसाबले त संकट थिएन । लकडाउन भएको एक दुई हप्तापछाडि त पैसा पनि पर्याप्त नै दियो । एफ वान स्ट्याटसका विद्यार्थीलाई भने समस्या भयो । काम गरेर पढ्नुपर्ने, विभिन्न सुविधा पनि नआउने स्थिति । उहाँहरूलाई हामी नेपाली संघसंस्थाले सहयोग गर्यौँ । अमेरिकामा नेपाली मूलका कोही पनि भोकै बस्नुपर्ने अवस्था भएन ।
महामारीले विदेशमा सामाजिक संस्थाको आवश्यकता झन् टड्कारो रूपमा देखियो होइन ?
सामाजिक संस्था चाहिने भनेकै विदेशमा हो । सबैभन्दा बढी आपत् विदेशमै पर्छ । स्वदेशमा आपत् पर्दा गर्ने धेरै छन् । विदेशमा अहिले पो नेपालीको संख्या अलि धेरै भयो । आवश्यकताको हिसाबले विदेशमा सामाजिक संस्था चाहिन्छ नै ।
अमेरिकाबाट नेपालले सिक्नुपर्ने के रहेछ ?
दुनियाँमा संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा उच्चतम शासकीय व्यवस्था अहिलेसम्म अरू छैन । मानवअधिकारसहित सबै पक्षमा व्यवस्थापकीय हिसाबले नेपाल लाइनमा आइसक्यो । तर, कार्यान्वयन पाटोमा हामीले सुधार्नुपर्ने देखिन्छ । अनुशासनदेखि सचेतनासम्ममा ध्यान दिनुपर्ने देखिन्छ । सिस्टमलाई फलो गर्ने सन्दर्भमा पनि समस्या छन् । भ्रष्टाचार, कानुन निर्माण गर्ने विषयमा पनि सुधार गर्नुपर्नेछ । स्थानीय साझेदारीमा सिस्टममा बसेर काम गर्ने हो भने अवश्य परिवर्तन आउँछ । कमिसन, भ्रष्टाचारजस्ता विषयलाई ध्यान दिनुपर्छ । सिक्नुपर्ने धेरै विषय होला, मुख्य भनेको इमान्दारिता नै हो । नेतृत्व र कर्मचारी प्रशासनले सिक्नुपर्ने भनेको इमान्दारिता नै हो । अहिले इन्टरनेटको माध्यमबाट संसारका सबै चीज थाहा पाउन सकिन्छ । त्यसको भरपुर उपयोग गर्नुपर्छ । इमान्दार प्रयास गरियो भने सबै कुरा बनेर जान्छ । राम्रो कामलाई राम्रो भन्न सक्नुपर्छ । विदेश नीति स्थायी हुनुपर्छ, त्यसमा त्यस्तो छैन । सरकार फेरिएपिच्छे विदेश नीति फेरिने गर्नुहुँदैन ।
एनआरएनमा पहिलोपटक राष्ट्रिय सम्मेलन नै हुन सकेन । परराष्ट्र मन्त्रालयमा उजुरका चाङ छन् । यस्तो स्थिति किन आयो ?
विदेशिएका नेपालीहरू पहिलो पुस्ता राजनीतिक दलको विभिन्न तहमा काम गरेर गएका छन् । सांसदको निर्वाचनमा लडेको व्यक्ति, शिक्षक आदि गएका छन् । उनलाई विदेश गएपछि पनि राजनीति रस आइरहँदो रहेछ । दास मनोवृत्तिका कारण समस्या आएको देख्छु । पार्टीको पनि लाइनका व्यक्तिले नेतालाई भनेर सम्मेलन नै रोक्न निर्देशन दिन लगाउने काम एनआरएनबाटै भएको छ । एनआरएनले आफ्नो स्वार्थमा नेपालको पार्टी गुहार्ने अवस्था आयो । एनआरएन भनेको त संसारभरि छरिएर रहेका नेपालीको व्यवसाय, मानवीयलगायतका विषयलाई समेटेर नेपालको विकास र समृद्धिलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने हो । तर, विडम्बना पार्टीको लाइनको रूपमा जोडियो ।
गैरराजनीतिक संस्थामा राजनीति हावी भएर बिग्रिएको हो ?
गैरराजनीतिक संस्थामा राजनीति बढी हावी भयो अनि राजनीतिक दल र नेताहरूले पनि आर्थिक अवस्था राम्रो भएका एनआरएनप्रति आश्रित हुने अवस्था पनि देखियो । त्यस्तो अवस्थामा उसले भनेको मान्नै पर्यो । नेपालका नेताहरूको पनि केही कमजोरी देखिन्छ, तर सबैभन्दा ठूलो कमजोरी विदेशमा क्रियाशील जसले आफूलाई पार्टीको लाइनमा जोड्छ, सीमित गुटको लाइनमा जोड्छ, त्यस्तो व्यक्तिहरूको खराब मनोवृत्तिले गर्दा समस्या आएको हो । सँगैको साथी अब्बल देख्न नसक्ने मनोवृत्तिले पनि समस्या पारेको छ । म अहिले अमेरिकाको सल्लाहकार छु, एनआरएनको सम्मेलनको सिलसिला पारेर काठमाडौँ आएको थिएँ, तर यसपालि सम्मेलन हुन सकेन ।
र, अन्त्यमा फिप्ना आह्वान केही छ ?
नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले थालेको अभियान भनेको हामी नेपालको आदिवासी जनजाति हौँ । नेपालको आदिवासी, जनजातिको सवालमा बोल्छौँ, लेख्छौँ । नेपालको मानवअधिकारी, मौलिक अधिकार, नेपाल र नेपालीको समृद्धिको पक्षमा विभिन्न कोणबाट काम गर्छौँ । हामी अमेरिकावासी भएकाले, कर्मथलोमा पनि हाम्रो नेपाली, अमेरिकी परिचयलाई स्थापित गराउनुपर्छ भन्ने अभियानमा लागेका छौँ । नेपाली अमेरिकनभित्र नेपाली भाषा, नेपाली साहित्य, नेपाली भेषभूषा, नेपाली इतिहासलाई विभिन्न विद्यालयमा पाठ्यक्रमको रूपमा एउटा शीर्षकमा भए पनि नेपालको विषयमा विद्यार्थीले पढ्न पाउनुपर्यो । हाम्रो भाषालाई त्यहाँ स्थापित गराउनुपर्यो । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन नेपाली अमेरिकन हेरिटेड डे को रूपमा नेपाल डे भनेर पारित भएको छ । अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो त्यो । माननीय सांसद ह्यारीले बोलेर स्टेटको हलले पारित गरेको विषय हो यो । अमेरिकामा अब प्रत्येक वर्ष नेपाल डे मनाइन्छ । बजेटलगायत सम्पूर्ण विषयमा राज्यले सम्बोधन गर्ने अवस्था ल्याउनुपर्छ भन्ने अभियानमा हामी लागिराखेका छौँ । हामी पहिलो पुस्ता भएकाले धेरै नै दुःख गर्नुपरेको छ । दुःखलाई अवसरको रूपमा लिएर हामी अगाडि बढेका छौँ । नेपाली अमेरिकन पहिचानका साथ बाँच्ने वातावरण बनाउन लागिपरेका छौँ ।