सहारा एकेडेमी सञ्चालन गर्न केसी परिवारले वार्षिक १५ लाख दिने

बिहिबार, १८ कार्तिक, २०७८
डिजिटल संस्करण

सहारा क्लब पोखराको स्वामित्वमा रहेको सहारा एकेडेमी अब ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’का नाममा सञ्चालन हुने भएको छ । एकेडेमीको नाम परिवर्तनसँगै बुधबार दुईपक्षीय सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार स्व. केसी परिवारले एकेडेमीलाई वार्षिक १५ लाख दिने भएको छ । स्व. केसीकी धर्मपत्नी प्रेमकुमारी केसीको उपस्थितिमा सहारा क्लबका अध्यक्ष हरि गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

 एकेडेमीमा अहिले १४ जिल्लाका २४ छात्र रहेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । एकेडेमीको यो तेस्रो ब्याच हो । १० वर्षसम्म स्व. केसीको पुण्यतिथिका अवसरमा उनको परिवारले क्लबलाई वार्षिक १५ लाख प्रदान गर्ने सम्झौता भएको क्लबका महासचिव गुरुङले बताए । सहयोगदाताका भरमा सञ्चालन हुँदै आएको एकेडेमीमा पहिलोपटक ठूलो राशिको सहयोग भएको हो । केसी परिवारले छात्रहरूको शिक्षादेखि फुटबल प्रशिक्षणसम्ममा एकेडेमीले खर्च व्यहोर्नेछ । हालसम्म सहारा युके, सहारा हङकङ र सहारा अस्ट्रेलियाले सहयोग गर्दै आएका थिए । सहारा क्लबले जग्गा खरिद गरी पोखराको दोबिल्लामा एकेडेमी सञ्चालन गरेको हो । 

एकेडेमीको मूल स्रोत क्लबद्वारा बर्सेनि आयोजना हुने देउसी–भैलो र आहारारा गोल्डकप हो । स्थापनाकालदेखि क्लबको विकासमा योगदान दिएका स्व. केसीको सम्मानस्वरूप उनको स्मृतिमा क्लबको नाम परिवर्तन गरिएको हो । गत वर्ष १७ कात्तिकमा निधन भएका केसी प्रतिनिधिसभाका तत्कालीन सदस्य एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य थिए । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा केसीका छोरा तथा युवा उद्योगी प्रकाश केसीले सहारासँग बुबाको संस्थागत निकटता र सबैलाई मायाको दृष्टिकोणले हेर्ने भएकाले परिवारले एकेडेमीको सञ्चालनका लागि सहयोग गरेको बताए । 

सुझावित समाचार