लागुऔषधसहित एक र ६ जुवाडे पक्राउ

बुधबार, १७ कार्तिक, २०७८
डिजिटल संस्करण

कास्की प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित एकजनासँगै ६ जुवाडेलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिसुवा र वडा प्रहरी कार्यालय गगनगौँडा कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला म्याग्दी मालिका गाउँपालिपा– ४ ओखरबोट स्थायी घर भई हाल म्याग्दीको बेनी नगरपालिका– ८ क्याम्पस चोक बस्ने वर्ष २२ को गौरव बुढालाई लागुऔषधसहित पोखरा ३० गगनगौँडाबाट पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

सवारीसाधन चेकजाँच गर्ने क्रममा प्रहरीले बुढाको साथबाट लागुऔषध डाइजापाम– १२६ एम्पुल, नर्फिन १२६ एम्पुल, फेनार्गन एक सय २६ एम्पुल गरी जम्मा तीन सय ७८ एम्पुल र मोबाइल १ थानसहित पक्राउ गरेको हमालले जानकारी दिए । पक्राउ परेका बुढालाई लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

जुवा खेल्ने ६ जना पक्राउ 
यसैगरी कास्की प्रहरीले पोखरा १४ चाउथे एक ग्यारेजमा जुवातास खेलिरहेका ६ जनालाई नगद एक लाख ५६ हजार तीन सय ९५ र ५२ पत्ती ताससहित पक्राउ गरेको हमालले जानकारी दिए । भारत घर भई हाल पोखरा– १४ चाउथे बस्ने वर्ष २५ को इम्तिहाज आलमको ग्यारेजमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा जिल्ला पाल्पा स्थायी घर भई हाल पोखरा– १० नहरचोक बस्ने वर्ष ३२ का विदबहादुर दंगाला, जिल्ला पर्वत स्थायी घर भई हाल पोखरा– १४ चाउथे बस्ने वर्ष ६० का लोकबहादुर क्षेत्री, जिल्ला बाग्लुङ घर भई हाल पोखरा– १० अन्नपूर्ण टोल बस्ने वर्ष ३० का विष्णु विक, जिल्ला मकवानपुर घर भई हाल पोखरा– १० नहरचोक बस्ने वर्ष २९ का मधु विक, जिल्ला बारा घर भई हाल पोखरा– १० नहरचोक बस्ने वर्ष ४० का अब्दुल मनान, भारत घर भई हाल पोखरा– १४ चाउथे बस्ने वर्ष २५ का इम्तिहाज आलम रहेका छन् ।

पक्राउ परेका उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
 

See More On

सुझावित समाचार