नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले नेपाल पत्रकार महासंघको सहकार्यमा प्रदान गर्दै आएको नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिकाकर्मी अनु आचार्य सम्मानित भएकी छिन्। मंगलबार नेपाल पत्रकार महासंघमा एक कार्यक्रमको आयोजना गरी आचार्यलाई सम्मान गरिएको हो। कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आचार्यलाई सम्मान गरेका हुन्।
नेपाल–अमेरिका पत्रकार संघ (नेजा) को सातौँ अधिवेशन तथा १४औँ साधारणसभाको उदघाटन सत्रमा आचार्यलाई नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो। २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको नेपाल पत्रकार महासंघले जनाएको छ।
नेपाल–अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष विकासराज न्यौपानेले नेपालको ग्रामीण क्षेत्रमा रहेर जनतालाई सुसूचित गर्नेमध्ये एकजना पत्रकारलाई नेजाले नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्दै आएको बताए। नेजाले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा हरेक २ वर्षमा नेपालका ग्रामीण जिल्लामा बसेर पत्रकारिता गर्ने उत्कृष्ट पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आएको जनाएको छ।
नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’ लिँदै आचार्यले ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्न चुनौती रहेको भन्दै पुरस्कारले आगामी दिनमा पेसाप्रति क्रियाशील हुन हौसला प्रदान गरेको बताइन्।