नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवालाई सभापतिबाट बिदा दिनुपर्ने बताएका छन् । आइतबार नेपाली कांग्रेस महाभारत गाउँ कार्यसमितिको आयोजनामा भएको शुभ–दीपावली, छठ र नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोइरालाले यस्तो बताएका हुन् । ‘अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्छ, मेरो व्यक्तिगत विचारमा उहाँलाई आउँदो महाधिवेशनमा बिदा गर्नुपर्छ ।’
महामन्त्री कोइरालाले भने, ‘अबको नेतृत्व परिवर्तन हुनुपर्छ । युवाहरूलाई आकर्षित गर्ने नेतृत्वको आवश्यकता छ । त्यस्तो नेतृत्व चुन्नुपर्छ ।’ नेपाली कांग्रेसको नेतृत्वमा परिवर्तन गर्नुपर्ने कोइरालाले बताएका छन् । अबको दिनमा युवाहरूलाई स्थान दिनुपर्ने उनको भनाइ छ । ४० वर्षभन्दा कम उमेरका युवाहरूलाई आकर्षित गर्दै ४० देखि ६० वर्षभित्रका युवाहरूले नेतृत्व गर्नुपर्ने उनले बताएका छन् ।
कांग्रेसलाई कांग्रेसले नै हराउँछ
सोही कार्यक्रममा कोइरालाले नेपाली कांग्रेसलाई कुनै पनि पार्टीले हराउन नसक्ने कुरा बताएका छन् । कांग्रेस एकजुट नभएका कारण कांग्रेसलाई कांग्रेसले नै हराउने उनले बताएका छन् । ‘नेपाली कांग्रेसलाई एमाले, माओवादीलगायत कुनै पनि पार्टीले हराउन सक्दैन, कांग्रेसलाई निर्वाचनमा कांग्रेसले नै हराउँछ,’ उनले भने, ‘आगामी महाधिवेशनबाट हामी सबै एकजुट हुनुपर्छ । त्यस्तो खालको नेतृत्व चयन गर्नुपर्छ, त्यसपछि कांग्रेसलाई कसले छुन सक्छ ?’
हेलिकोप्टर चार्टर गरेर महाभारत पुगेका महामन्त्री कोइरालाले महाभारत प्रकृतिले भरिपूर्ण सुन्दर ठाउँ रहेको बताए । त्यस भेगको विकासका लागि सडक बाटोको मात्र आवश्यकता रहेको उनले बताएका छन् । सहज सडक सञ्जालका लागि नेपाली कांग्रेसको नेतृत्वमा सरकार भएकोले मन्त्रीलाई भेटेर आग्रह गर्ने उनले बताए ।