फोहोर व्यवस्थापनमा बेवास्ता गरेको भन्दै मेयरविरुद्ध वडाध्यक्ष

सोमबार, १५ कार्तिक, २०७८
डिजिटल संस्करण

नगरप्रमुखकै घरअगाडि फोहोर फालेर वडाध्यक्षहरूले गरे प्रदर्शन 
 नगरप्रमुख भ्रष्टाचारमा मात्र लिप्त भएको आरोप

फोहोर व्यवस्थापनमा बेवास्ता गर्दै आएका जनकपुर नगरपालिका प्रमुखविरुद्ध वडाध्यक्षहरू नै प्रदर्शनमा निस्किएका छन् । आइतबार नगरप्रमुख लालकिशोर साहको घरअगाडि नै फोहोर फालेर वडाध्यक्षहरूले प्रदर्शन गरेका हुन् । वडा नम्बर– १ का वडाध्यक्ष शत्रुधन साह, ३ का वडाध्यक्ष दीपेन्द्र साह, ४ का वडाध्यक्ष सुदर्शन सिंह र ७ का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा प्रदर्शन भएको थियो । नगरप्रमुखले चाडपर्वको वेलासमेत नगर सरसफाइमा ध्यान नदिएको उनीहरूको भनाइ छ । उनीहरूले नगरप्रमुख साहलाई पटक–पटक फोहोर व्यवस्थापनका लागि आग्रह गर्दा कुनै चासो नदिएको आरोप लगाएका छन् । 

दीपावली नजिकिँदै गर्दा फोहोर व्यवस्थापनमा चासो नदेखाएको भन्दै केही वडाध्यक्षहरूले नगरप्रमुख साहलाई मोसो दल्ने चेतावनीसमेत दिएका छन् । वडा नम्बर– ७ का वडाध्यक्ष जानकीराम साहले उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएका फोहोर व्यवस्थापन गर्न मेयर साहले बेवास्ता गरेको भन्दै मेयर साहलाई मोसो दल्ने चेतावनी दिए । वडा नम्बर– १ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्बर– ३ का वडाध्यक्ष दीपेन्द्र साह, वडा नम्बर– ४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर– ७ का वडाध्यक्ष जानकीराम साहलगायतले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयअगाडि धर्नासमेत दिएका छन् ।

वडाध्यक्ष साहले भने, ‘हामीले योभन्दा पहिला पनि धेरैपटक फोहोर व्यवस्थापन हुनुपर्छ भनेका थियौँ । फोहोर व्यवस्थापनका लागि कुनै चासो नदेखाएपछि विरोधको यो शैली अपनाएका हौँ ।’ नगरप्रमुखले जनताप्रति बेवास्ता गर्दा महानगर दुर्गन्धित बनेको बताए । ‘थुपारिएका फोहोर व्यवस्थापनलाई मेयर साबले वास्ता नै गर्नुभएन, फोहोर व्यवस्थापन हुनुपर्छ भनेर ल्यान्डफिल्ड बनाउनुपर्छ भन्दै आएका छौँ । तपाईंले नसके हामी वडाध्यक्षहरूको समूह बनाएर काम गर्छौँ भन्दा पनि उहाँले मान्नुभएन,’ वडाध्यक्ष साहले आक्रोश पोखे, ‘काम नगर्ने मेयर, गाली खाने हामी वडाध्यक्ष ? उहाँचाहिँ अहिले काठमाडौं घुम्न जाने चाडबाडको वेला, रमाइलो गर्ने ? अब हामी मोसो दल्नुपर्छ भने त्यो पनि दल्नेछौँ ।’वडाध्यक्षहरूले नगरप्रमुख भ्रष्टाचारमा मात्र केन्द्रित भएको आरोप लगाए । ‘उहाँको चासो फोहोर व्यवस्थापनमा छैन । बरु, भ्रष्टाचारमा ध्यान केन्द्रित छ,’ एकजना वडाध्यक्षले भने, ‘उहाँका अनैतिक कामको अब पर्दा उघ्रँदै जानेछ ।’

सुझावित समाचार