नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले संस्थापक नेता पुष्पलाल श्रेष्ठहरूले टिकाएको पार्टीलाई संगठित गर्दै नेकपा एमाले बनाउन काम आफूहरूले नै गरेको भन्दै फुर्ती नलगाउन केपी ओलीलाई चेतावनी दिएका छन्। एकीकृत समाजवादी मोरङले शनिबार विराटनगरमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
केशरजंग रायमाझीहरूले २०१४ सालमा कम्युनिस्ट पार्टीलाई दरबारमा बुझाएपछि पुष्पलालहरूले विद्रोह गरी टिकाएको पार्टीलाई आफूहरूले नै एमाले बनाएको उनले बताए। कार्यकर्ताहरूमाझ उनले भने, ‘एमाले हामीले बनाएका हौँ। केपी ओलीले हैन। यसैले फुर्ती नलगाए हुन्छ।’
पुष्पलालले उठाएको झन्डालाई आफूहरूले बोकिरहेको भन्दै उनले लोकतन्त्रको रक्षाका लागि त्यो झन्डा कहिल्यै खस्न नदिने प्रतिबद्धता गरे।
अग्रज र त्यागी नेताहरू आफूहरूसँगै रहेकाले आफूहरू नै सक्कली कम्युनिस्ट पार्टी भएको अध्यक्ष नेपालको दाबी छ। एमाले गफाडीहरूको पार्टी हो भन्दै उनले भने, ‘गफ गर्नेहरूले पार्टी चलाउँदैनन्। त्यो त अब सिद्धियो सिद्धियो। तर, हामी देशभक्ति र लोकतन्त्रको झन्डा कहिल्यै झुक्न दिनेछैनौँ।’