तनहुँका दुई पालिकामा कोरोना संक्रमित शून्य

शनिबार, १३ कार्तिक, २०७८
डिजिटल संस्करण

तनहुँका दश स्थानीय तहमध्ये दुई गाउँपालिकामा कोरोना संक्रमण शून्य भएको छ। देवघाटका ९० र आँबुखैरेनीका एक सय ११ संक्रममित निको भएसँगै दुवै गाउँपालिका कोरोना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

दोस्रो लहरको कोरोना संक्रमण सुरु भएपछि देवघाटका एक र आँबुखैरेनीका एक संक्रमितको मृत्यु भएको छ। हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ४७ रहेको कार्यालयका जनस्वास्थ्य अधिकृत कुसुम श्रेष्ठले जानकारी दिए। भानुमा पाँच, व्यासमा १३, शुक्लागण्डकीमा १६, भिमादमा तीन, म्याग्देमा ६, घिरिङमा एक, ऋषिङमा एक र बन्दिपुरमा एक सक्रिय संक्रमित छन्। सबै संक्रमित होम आइसोलेसनमा छन्।

जिल्लामा हालसम्म पाँच हजार तीन सय ७५ जनामा संक्रमण पुष्टि भएकामा पाँच हजार दुई सय चारजना निको भएका छन्। यस क्रममा एक सय २४ संक्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ । 

एक लाख बढीले लगाए खोप
जिल्लामा एक लाख बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। जिल्लाका एक लाख आठ हजार तीन सय एकले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा लगाएका छन्। दुवै मात्रा लगाउनेको संख्या ६५ हजार आठ सय ३८ रहेको छ।

जिल्लामा विभिन्न चरणमा कोभिसिल्ड, भेरोसेल, जोन्सन, एस्ट्राजेनेका खोप अभियान सञ्चालन हुँदै आएको छ। त्यस क्रममा ४५ वर्षमाथिका नागरिक, १८ वर्षमाथिका विद्यार्थी, व्यवसायी, पत्रकार, सुरक्षा निकाय, कर्मचारीलगायतलाई प्राथमिकताका आधारमा खोप लगाइएको छ।

सुझावित समाचार