नेपाल प्राध्यापक संघका पूर्वअध्यक्षहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेका छन्। प्राध्यापक संघका नौजना पूर्वअध्यक्षहरूले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्चको नेतृत्व गर्न असक्षम भएको भन्दै राजीनामा मागेका हुन्।
जबराको राजीनामा माग गर्ने प्राध्यापक संघका पूर्वअध्यक्षहरूमा प्रा.डा. कमलकृष्ण जोशी, प्रा.केशवानन्द गिरी, प्रा. भूपति ढकाल कमल, प्रा. कपिल श्रेष्ठ, प्रा. भीमसेनदास प्रधान, प्रा. रामेश्वर उपाध्याय, प्रा.डा. विनोदकुमार श्रेष्ठ, प्रा. खगेन्द्र भट्टराई र प्रा. गुणनिधि न्यौपाने छन्।
उनीहरूले प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतको गरिमा बचाउन नसकेको र उनी पूर्ण रूपमा नेतृत्वमा असफल भएको विज्ञप्तिमा भनेका छन्।
‘स्वतन्त्र न्यायपालिकाको जन आस्था र प्रतिष्ठा बचाएर राख्नका लागि हाल नेतृत्वमा रहनुभएका व्यक्तिले नै निकास दिनुपर्दछ, यस विषम् परिस्थितिबाट उत्पन्न न्यायपालिकाको प्रतिष्ठा, विश्वसनीयता, निष्पषता र जनआस्था जोगाउन प्रधानन्यायाधीशले तत्काल राजीनामा दिएर निकास दिनु नै उत्तम विकल्प हो,’ विज्ञप्तिमा भनिएको छ ।
