विश्वासको मत लिन प्रदेश १ का मुख्यमन्त्रीलाई आज अन्तिम डेटलाइन

शुक्रबार, ५ कार्तिक, २०७८
डिजिटल संस्करण

अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने आज शुक्रबार अन्तिम डेटलाइन रहेको छ। २५ असोजमा विश्वासको मत लिने प्रस्ताव दर्ता भएको थियो। कार्यव्यवस्था समितिको बैठकपछि मात्र मुख्यमन्त्रीले आज शुक्रबारै वा आइतबार विश्वासको मत लिनेबारे सचिवालयले कार्यसूची बनाउने सभामुख प्रदीपकुमार भण्डारीले बताएका छन्। 

विपक्षी गठबन्धनहरूले भने आज शुक्रबारै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपर्ने, अटेर गरेमा अविश्वासको प्रस्ताव दर्ता गराउन बाध्य हुने चेतावनी दिँदै आएका छन्। तर, सत्ताधारी दल एमालेले भने बागमती प्रदेशमा झैँ प्रदेश १ मा पनि  संसद्को बैठक अझै केही दिन पर सार्न बहाना बनाउन खोजिरहेको छ।  

१० भदौमा नियुक्त भएका मुख्यमन्त्री आचार्यको  सरकार असंवैधानिक रूपमा सञ्चालन भइरहेको भन्दै  विपक्षी गठबन्धनहरूले  तुरुन्त राजीनामा दिन माग गरेका छन्।  

२५ असोजमा पत्रकार सम्मेलन गर्दै विपक्षी गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र संघीय लोकतान्त्रिक मञ्चले सत्ताधारी दल एमालेका मुख्यमन्त्री भीम आचार्यले नियुक्त भएको ३० दिन बितिसक्दा पनि विश्वासको मत नलिई असंवैधानिक रूपले सञ्चालन भइरहेकोले भर्त्सना गर्दै तुरुन्त राजीनामा दिन माग गरेका थिए। 

एमाले र जनता समाजवादी दल औपचारिक रूपले ९ भदौमा विभाजन भएपछि मुख्यमन्त्री शेरधन राईलाई राजीनामा गराएर एमालेले भीम आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको थियो। तर, संविधानअनुसार नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने भए पनि अझै लिएका छैनन् । 

प्रदेश १ सभामा सभामुख र उपसभामुखसहित सत्ताधारी दल एमालेको ४१, विपक्षी दल कांग्रेसको २१, माओवादी केन्द्रको १५, संघीय समाजवादीको १० जनता, समाजवादीको तीन, राप्रपाको एक र संघीय लोकतान्त्रिक मञ्चको एक सांसद छन्। मुख्यमन्त्री आचार्यलाई विश्वासको मत पाउन अझै पाँचजना सांसद चाहिन्छन्। तर, विपक्षी गठबन्धन दह्रो भएकोले उनलाई विश्वासको मत पाउन गाह्रो छ। 
 

सुझावित समाचार