राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच अपरिहार्य रहेको बताएकी छिन् । सोमबार बिपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएका चिनियाँ डाक्टरहरूको टोलीलाई बिदाइ सम्बोधन गर्दै भण्डारीले नेपालजस्तो विकासशील राष्ट्रमा स्रोतसाधन तथा सक्षम जनशक्ति प्राप्त गरी क्यान्सर बिरामीको लागि समर्पित गर्नु गराउनु अझै पनि चुनौतीको विषय भएको भन्दै गुणस्तरीय स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच हुनुपर्ने बताए ।
उनले क्यान्सर रोग मानव जीवनका लागि विश्वव्यापी चुनौतीको रूपमा देखा परेको उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले वातावरण प्रदूषण, विषादीयुक्त खाद्यपदार्थ, सुर्ती तथा मादकपदार्थ सेवनलगायतका अस्वस्थ जीवनशैली नै क्यान्सर रोगको कारक रहेको बताएन । भण्डारीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रिय क्यान्सर प्रतिष्ठानको रूपमा विकास गर्ने अस्पतालको लक्ष्यप्रति खुसी पनि व्यक्त गरिन्
भण्डारीले बिरामीको सेवामा खट्ने अस्पताल परिवार र चिनियाँ टोलीप्रति आभार व्यक्त गर्दै चीन सरकारको पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको अस्पतालले क्यान्सरको उपचारमा विशिष्टीकृत सेवा प्रदान गरेको बताइन् । २२ वर्षअघि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको अस्पतालमा प्रत्येक वर्ष परिवर्तन हुने गरी चीनबाट नै चिकित्सकको टोली आउने गरेको छ ।
अघिल्लो वर्ष आएका १५ जनाको विशेषज्ञ चिकित्सकको टोली आफ्नो कार्यकाल पूरा गरी फर्कन लागेको हो । कार्यक्रममा चिनियाँ चिकित्सकको टोलीले नेपालको स्वास्थ्य क्षेत्रको अवस्था र आफूहरूले काम गर्दाको अनुभव व्यक्त गरेका थिए भने टोलीलाई राष्ट्रपति भण्डारीले सम्मानपत्रसमेत प्रदान गरेकी थिइन् ।