कञ्चनपुरको सिद्धनाथ मन्दिरमा भक्तजनले चढाएका घन्टी मन्दिर विकास समितिले नै सेटिङमा प्रक्रिया नै नपुर्याई बिक्री गरेको पाइएको छ । भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा रहेको मन्दिरमा चढाइएका घन्टी मन्दिर विकास समितिले प्रक्रिया मिचेर बेचेको खुलेको हो ।
मन्दिर विकास समितिले मन्दिरमा रहेका घन्टी विनासूचना प्रक्रिया मिचेर एक भारतीय नागरिकमार्फत महेन्द्रनगरको न्यु ठकुराठी ब्रदर्स भाँडावर्तन पसलमा बिक्री गरेको पाइएको छ । मन्दिर समितिले टुटफुट भएको र पुराना भन्दै लाखौँ मूल्यबराबरको काँस, पित्तल तथा धातुले बनेका घाटघन्टी कौडीको भाउमा बेचेको हो । शनिबार प्रहरीले ठकुराठी ब्रदर्सको गोदामबाट मन्दिरका घाटघन्टी बरामद गरेपछि मन्दिर समितिले हरेक वर्ष दर्शनार्थीले चढाएको घाटघन्टी बेच्दै आएको रहस्य खुलेको छ ।
लिलाम गर्नुपर्ने कबाड भए पनि एकै मिति २१ भदौ ०७८ मा तीन भारतीयले विनाप्रमाण कोटेसन खरिद गरेको नक्कली कागजात खडा गरेका छन् । भारतीय नागरिकलाई भीमदत्त नगरपालिका–३ भाँसीनिवासी देखाइएको छ । गुड्डु अन्सारी, इरसाद अन्सारीलगायत भारतीय नागरिकमार्फत घन्टी बेचिएको हो ।
२१ साउन ०७८ मा मन्दिर समितिका सचिव पुष्करराज उप्रेती नेतृत्वको उपसमितिले अन्सारीलाई घाटघन्टी बिक्री गरेको हो । साना खालका सफा घाटघन्टी प्रतिक्विन्टल ६ सय रुपैयाँका दरले ५० किलोग्राम, टुटफुट तथा अन्य घन्टीहरू प्रतिक्विन्टल पाँच सय रुपैयाँका दरले ६ सय ७० किलोग्राम, राला प्रतिक्विन्विन्टल ६ किलो कट्टा हुने गरी ३० रुपैयाँका दरले ४७ किलोग्राम कुल तीन लाख ६६ हजार चार सय १० रुपैयाँमा बिक्री गरेको जनाइएको छ ।
घाटघन्टी खरिददाता अन्सारीसँग नगद लिएर समितिका सचिव उप्रेतीले आफैँले बैंक दाखिला गरेका छन् । यसरी लिलामबापतको रकम एकैपटक बैंकमा जम्मा गर्नुपर्ने भए पनि दुईपटक गरिएको पाइएको छ । उनले २४ भदौ ०७८ मा एक लाख ८० हजार तीन सय र २९ भदौ ०७८ मा एक लाख ८६ हजार एक सय १० रुपैयाँ जम्मा गरेका थिए । ती दुवैको गोश्वारा भौचर १ असोज ०७८ मा तीन लाख ६६ हजार चार सय १० रुपैयाँ जम्मा गरेको पाइएको छ । बैंक भौचर र गोश्वरा भौचर फरक–फरक मितिमा भरेरसमेत गल्ती लुकाउन खोजिएको छ ।
१५ पुस ०७७ मा मन्दिर विकास समितिका अध्यक्ष हिक्मत भण्डारीको अध्यक्षतामा अल्पमतको उपस्थितिमा बसेको १५औँ वार्षिक साधारणसभालाई समेत छलेर पछि निर्णय गराइएको पाइएको छ । प्रस्तावविनै गरिएको निर्णयले समितिको नियतमाथि शंका उब्जाएको छ । घन्टी बेचेपछि मात्रै उक्त निर्णय राखिएको देखिन्छ ।