माधव नेपाल भन्छन्– हामी देशभक्तिको झन्डा बोक्न चाहन्छौँ, जनताको आवश्यकताअनुसार अघि बढ्छौँ (भिडियोसहित)

मंगलबार, ५ असोज, २०७८
डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विगतमा भएका कमीकमजोरीलाई पन्छाएर अघि बढ्ने बताएका छन् । मंगलबार पार्टीको केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै नेपालले विगतका कमीकमजोरीबाट पाठ सिक्दै अघि बढ्ने बताएका हुन् । 

एमालेबाट बाध्य भएर विद्रोह गर्नुपरेको भन्दै उनले यो कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारको निरन्तरता र परिवर्तन भएको बताए । उनले पार्टीले नराम्रा कुराहरूलाई पन्छाएर राम्रा कुराहरूलाई मिलाउने पनि बताए । 

नेपालले पार्टी अब जनताको आवश्यकताअनुसार हिँड्ने पनि जिकिर गरे । उनले नेकपा एकीकृत समाजवादी पार्टी परिवर्तनकारी धारको अगुवा शक्ति बन्ने दाबी गरे । उनले भने, ‘हामीले बाध्य भएर विद्रोह गर्नुपरेको हो, यो हाम्रो निरन्तरता र परिवर्तन पनि हो, यसलाई भन्छन्, कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारको निरन्तरता । तर, विगतमा भएका कमीकमजोरीलाई पन्छाउँदै हामी अघि बढ्छौँ, राम्रा कामहरूलाई मिलाउँछौँ, राम्रा कुरालाई साथमा लिएर जान छौँ, अब जनताको चाहनाअनुसारको काम हुन्छ, हामी यथास्थिति, परिवर्तनवादी धारको अगुवा शक्तिको रूप बनेर देखाउनेछौँ, हामी व्यक्तिवाद, अधिकारवाद, निरंकुश प्रवृत्ति विकृतिविरुद्ध लड्नेछौँ । राष्ट्रिय पुँजीवादलाई प्रोत्साहन दिन चाहन्छौँ, हामी देशभक्तिको झन्डा बोक्न चाहन्छौँ, हामी विधि, पद्धतिलाई मान्छौँ, स्वेच्छाचारितालाई अन्त्य गर्नेछौँ, विज्ञान प्रविधिको व्यापक प्रयोग गर्नेछौँ ।’

अध्यक्ष नेपालले आफ्नो पार्टी सुदूरपश्चिम र प्रदेश २ मा एमालेभन्दा ठूलो भएर संसदमा रहेको बताउँदै अन्य प्रदेशमा पनि ठूलो शक्तिको रूपमा स्थपित हुने दाबी गरे ।
 

सुझावित समाचार