शक्ति प्रयोग गरेर गृहजिल्लामा अधिवेशन गराउनु शुभसंकेत होइन : वरिष्ठ नेता पौडेल

शुक्रबार, २५ भदौ, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्लामा जबर्जस्ती वडा अधिवेशन गराइएको भन्दै महाधिवेशनका लागि शुभसंकेत नभएको प्रतिक्रिया दिएका छन्। वरिष्ठ नेता पौडेलले अधिवेशनबारे सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा शुक्रबार वडा अधिवेशन भइरहेको छ। पार्टीकै नेता र निर्वाचन समितिको असन्तुष्टिबीच  डडेल्धुराका वडाहरूमा भएको अधिवेशन जिल्लाका नेताहरूले समेत बहिष्कार गरेका छन्। 

‘नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिताबेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी  नेपाली कांग्रेसको वडा अधिवेशन गराउनु लोकतन्त्रकै उपहास भयो,’ पौडेलले लेखेका छन्, ‘महाधिवेशनको लागि यो शुभ संकेत होइन।’

असन्तुष्टिबीच अधिवेशन सम्पन्न गर्न प्रहरी परिचालन गरी निर्वाचन भइरहेको छ। पौडेलले यसलाई कांग्रेसको इतिहासमै आन्तरिक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक भएको प्रतिक्रिया दिएका छन्।

पौडेलले आफ्नो नेतृत्वमा महामन्त्री डा. शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. मीनेन्द्र रिजाल र जीवन परियारसहितको टोलीले बिहीबार सभापति देउवालाई भेटेर पार्टी निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन सहयोग गर्न देउवालाई ध्यानाकर्षणसमेत गराएको बताएका छन्।

उनले पार्टीका क्रियाशील सदस्यहरूको छानबिन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गर्न र महाधिवेशनमा राज्यको प्रहरी र प्रशासनको दुरुपयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गराएको भए तापनि देउवाले बेवास्ता गरेको उनको आरोप छ।

सुझावित समाचार