प्रमुख प्रतिपक्ष दल एमालेले राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध गरेको छ । एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।
बैठक सुरु हुनासाथ राष्ट्रिय सभामा एमालेका सांसदले उठेर बैठक अवरुद्ध पारेका थिए । त्यसपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिएका थिए ।
भट्टराईले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दल फुटाउने, आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरूको सूचनासमेत टाँस नगरेर राजनीतिक दलका सामान्य कार्यकर्ताको रूपमा प्रस्तुत भएको उल्लेख गर्दै त्यसको विरोधमा राष्ट्रिय सभा चल्न दिन नसकिने चेतावनी दिए । उनले लोकतन्त्रको रक्षाका लागि, संविधान र कानुनविरोधी सभामुख सापकोटाको भूमिको रहेको उल्लेख गर्दै त्यसलाई मानेर जाने अवस्थामा आफूहरू नरहेको धारणा राखे । भट्टर्राइले बोलिसक्नेबित्तिकै एमाले सांसदहरूले उठेर संसद् बैठक सुचारु हुन दिएनन् ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले भने राष्ट्रिय सभाको गरिमालाई कायमै राखेर अघि बढ्नुपर्ने भन्दै एमाले सांसदहरूलाई बैठक सुचारु गराउन सहयोग गरिदिन पटकपटक आग्रह गरे । तर, एमाले सांसदहरूले नमानेपछि उनले बैठक ३० मिनेटसम्मका लागि स्थगित गरिएको घोषणा गरे ।