सेयर बजारमा हलचल आउँदा १०८ अंकको गिरावट

आइतबार, २० भदौ, २०७८
डिजिटल संस्करण

सेयर बजारमा हलचल आएको छ। कारोबारको सुरुवातदेखिबाटै ओरोलो लागेको नेप्से ५ प्रतिशतले घटेर  नकारात्मक सर्किट लागेर ४० मिनेटसम्मका लागि बजार नै बन्द हुन पुगेको थियो। बजार खुलेपछि केही उकालो लागेको सेयर बजारमा फेरि रकेट गतिमा ओरोला लाग्दै २८ सय १८ दशमलव ७२ को बिन्दुमा पुगेर थामिएको छ।

साताको पहिलो कारोबारका दिन आइतबार नेप्से परिसूचक एक सय आठ दशमलव २६ अर्थात् तीन दशमलव ७० प्रतिशतले घटेर बन्द भएको छ। सेयर बजार घट्नुमा लगानीकर्ताहरू राष्ट्र बैंकको नीति नै प्रमुख कारण रहेको बताउँछन्। मौट्रिक नीतिमार्फत केन्द्रीय बैंकले व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम रु. ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम रु. १२ करोडसम्म मात्र  कर्जा लिन सक्ने प्रावधान राखेको थियो। जसमा ठूला लगानीकर्ताहरूले यसको सुरुवाती चरणदेखि नै विरोध जनाउँदै आएका छन्। जसले गर्दा बजार प्रभावित बन्न पुगेको आरोप लगानीकर्ताहरूले  लगाएका छन्।  यतिवेला  लगानीकर्ताहरूमा सेयर बजारप्रति उत्साह नै  नहुँदा  केही नीतिमा परिवर्तन नआउँदा बजारको अबको बाटो कता भन्ने स्पष्ट  भन्न  नसकिने एक उच्च लगानीकर्ताको भनाइ छ।

कारोबारमा आउने १३ वटै समूहको सूचक नकारात्मक बनेका छन्। फाइनान्स समूहको सूचक ८ प्रतिशतले घटेको छ भने विकास बैंक, जलविद्युत्, जीवन बिमा, निर्जीवन बिमा,बाणिज्य बैंकलगायत  समूहको सूचकमा उच्च गिरावट आएको छ।

१७ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट
आइतबार  १७ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ।  नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, गुडबिल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, आइसिएफसी फाइनान्स, रिलायन्स फाइनान्स, अरुण काबेली पावर, युनिभर्सल पावर, हिमालयन ऊर्जा विकास, रु रु जलविद्युत् परियोजना, सिइडिबी परियोजना, ग्रिनलाइफ हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, पाँचथर पावर कम्पनी, दिव्यश्वरी हाइड्रो नेपाल कम्पनीको सेयर १० प्रतिशतले घटेर यी कम्पनीका लगानीकर्ता सबैभन्दा आफ्नो सेयर हिस्सा गुमाएका छन्। त्यसैगरी घलेम्दी, पञ्चकन्या हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।

सो दिन १४ वटा कम्पनीमा मात्र हरियाली बन्न पुगेका छन्। बाँकी दुई सय चार कम्पनीको सेयर नकारात्मक बन्न पुगेका छन्। सानिमा लाइफ इस्योरेन्सको १० प्रतिशतले सकारात्मक सर्किट मूल्यमा कारोबार हुँदा मनकामना लघुवित्त वित्तीय संस्था, गुँरास लघुवित्तको वित्तीय संस्थाका सेयर लगानीकर्ताहरूले थोरै भए पनि नाफा आर्जन गर्न सफल भएका छन्। 

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २३ कम्पनीको दुई करोड ३० लाख कित्ता  (इकाइ) सेयर किनेबेच हुँदा ११ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको छ। लगानीकर्ताहरू बजार घटेपछि प्यानिक हुन पुगेको देखिन्छ। जसले बजारमा अझै गिरावट आउन सक्ने आकलन गर्दै सेयर किनबेच गर्न लागिपरेका छन्। 

सो दिन पहिलो कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रो डेभलपमेन्ट रहेको छ। कम्पनीको सो दिन ७० करोड ३३ लाख रुपैयाँको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ३० करोड १९ लाख रुपैयाँको कारोबार भएको छ। नेपाल बैंकको २५ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ भने नबिल बैंकको २४ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ। रिडी  हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २१ करोड रुपैयाँको कारोबार भएको छ।

सुझावित समाचार