नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौ २३ गतेअघि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना नरहेको बताएका छन्। सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै २२/२३ गतेसम्म त मन्त्रिपरिषद् विस्तारका बारेमा कुनै छलफल नहुने बताएका हुन्।
आज बिहीबार बिहान नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए। प्रचण्डसँग भेट भएपनि मन्त्रिपरिषद् विस्तारका विषयमा कुनै छलफल नभएको पनि उनले प्रष्ट पारेका छन्। सत्तारुढ दल भित्रको विवादका कारण मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको चर्चा भइरहँदा नेताले मन्त्रिपरिषद् विस्तारका विषयमा उपयुक्त समयमा मात्रै सत्तारुढ दलहरुबीच छलफल हुने प्रतिक्रिया समेत दिए।
उनले भने, ‘मन्त्रीपरिषद विस्तारका विषयमा २२/२३ गतेसम्म त कसैले पनि चुईंक्क बोल्दैन। त्यसबारेमा अहिले केही चर्चा हुँदैन। हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौं।’
आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै उनले त्यसलाई चिरेर अघि बढन सफल हुने दाबी गरेका छन्। नेपालले ओलीको भ्रममा नपरी आफ्नो पार्टीमा आउन एमालेका नेता, कार्यकर्तालाई आह्वान गरेका छन्।