लगातारको वर्षाले पहिरो गएपछि त्रिवेणी–टोप्ला सडकखण्ड एक सातादेखि अवरुद्ध भएको छ । त्रिवेणी–टोप्ला सडकखण्डअन्तर्गत जुम्लाको तातोपानी गाउँपालिका– ७ सर्मीको चप्लटे, स्यालाओडार र खिरपालेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
यो सडकले जुम्ला, कुडारी त्रिवेणी ताम्ती टोप्ला, इमिल्चा हुँदै जाजरकोट, छिन्चु सुर्खेत जोड्छ। एक सातासम्म पनि अवरुद्ध सडक नखुलेपछि सवारी आगमनसहित सर्वसाधारणलाई आवतजावतमा समेत अप्ठ्यारो भएको स्थानीयवासीको गुनासो छ। तीन ठाउँमा खसेको पहिरो स्थानीयबाट पन्छाउन सम्भव नहुँदा दैनिकी कष्टकर बन्दै गएको तातोपानी गाउँपालिका– ७ सर्मीका स्थानीय प्रेम रावले बताए। ‘अहिलेसम्म पनि सडक खुल्ने कुनै सुरसार छैन। नुन, चामललगायत दैनिक उपभोग्य सामग्री गाउँमा लैजान समस्या भएको छ,’ उनले भने।
सडक नखुल्दा निर्माण सामग्रीसमेत ढुवानी गर्न सकिएको छैन। बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पताल पुर्याउन परेको स्थानीय राजु रावतले बताए। ‘एकातिर एउटा सडक निर्माण भएको एक दशक बितिसक्दासमेत स्तरोन्नति हुन सकेको छैन। त्यसमाथि पनि वेलावेला पहिरोले सास्ती थप्ने गरेको,’ उनले भने।
तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले सडक खुलाउनका लागि सडक डिभिजन कार्यालयसँग पहल भइरहेको बताए । उनले भने, ‘पालिकाको विपत् व्यवस्थापन समितिको बैठक बसेर निर्णय गरेका छौँ। पहिरोले धेरै ठाउँमा सडक भत्केकोले निर्माण गर्नुपर्नेछ। सडकको अनुगमन गरी बजेट व्यवस्थापन गर्दै छौँ,’ उनले भने । अबको दुई–तीन दिनभित्र सडक खुलाउने तयारी भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताए।