संवैधानिक परिषद्सम्बन्धी मुद्दाको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकामाथि प्रश्न उठेको छ। उक्त प्रश्न उठेपछि शुक्रबार नयाँ निर्णय लिइने भएको हो।
संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा कानुन व्यवसायीले दुईथरी तर्क प्रस्तुत गरेका छन्। बहस गर्नेमध्ये वरिष्ठ अधिवक्ताहरू कीर्तिनाथ शर्मा पौडेल, विकास भट्टराईलगायतले संवैधानिक संरचना नै त्यसैअनुरूपको भएकाले प्रधानन्यायाधीश इजलासमा रहन सक्ने तर्क गरेका थिए।
अधिवक्ता ओमप्रकाश अर्यालले भने परिषद्को निर्णय प्रक्रियामा आफैँ सहभागी भएकाले प्रधानन्यायाधीश इजलासमा रहनु उपयुक्त नहुने तर्क गरेका हुन्। कानुन व्यवसायीको यस्तो तर्कपछि इजलासबारे निर्णयका लागि इजलास केही समयका लागि रोकिएको छ।