नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका क्रियाशील सदस्यहरूको नामावली तत्काल सार्वजनिक गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन्। वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अवसर प्रदान गर्न पनि पार्टी नेतृत्वले त्यसको सार्वजनिक गर्न ढिलाइ गर्न नहुने स्पष्ट पारे।
पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्नुपर्ने मुख्य माग राख्दै पार्टीका जिल्ला सभापतिहरूले धर्ना दिइरहेका छन्। सोही धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउन बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका वरिष्ठ नेता पौडेलले युद्धस्तरमा काम गरेर भए पनि पार्टीको क्रियाशील सदस्यहरूको नामावली तत्काल सार्वजनिक गर्न सभापति देउवासँग माग गरे।
वरिष्ठ नेता पौडेलले भने, ‘युद्धस्तरमा अहोरात्र खटिएर क्रियाशील सदस्यहरूको नामावली टुंग्याएर पार्टीलाई वैधानिक संकटबाट बचाउनुपर्दछ। संवैधानिक संकटबाट नेपाली कांग्रेसलाई बचाउनुपर्ने अहिले आवश्यकता भएको छ। तपाईंहरू सबैलाई थाहै छ– मैले त २०७७ साल मंसिर २८ गतेबाट सुरु भएको महासमिति बैठकदेखि नै कार्यतालिका बनाएर महाधिवेशन गरौँ भन्दा मानिएन। अहिले संकट यसरी आएको छ । तर, यो अन्तिम घडीमा पनि पार्टीको वैधानिक संकटलाई निवारण गर्न हाम्रो केन्द्रीय नेतृत्व इमानदार भएर, हामी सबै इमानदार भएर लागौँ र पार्टीलाई बचाउने काममा सबै एक होऔँ ।’