पूर्वी नवलपरासीमा थप तीनजना संक्रमितको निधन भएको छ । नवलपुर प्रहरीका अनुसार कावासोती– १६ डण्डानिवासी ४८ वर्षीय पुरुष, गैँडाकोट– १५ निवासी ८१ वर्षीय पुरुष र हुप्सेकोट गाउँपालिका– १ निवासी ३५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण निधन भएको हो।
मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचाररत कावासोती– १६ बस्ने ४८ वर्षीय पुरुषको थप उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा उनको गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
साउन ३१ गते पजिटिभ देखिएको उनको मध्यबिन्दुबाट भदौ ६ गते भरतपुर अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको कोभिड आइसियूमा उपचार भइरहेको अवस्थामा निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
त्यसैगरी, गैँडाकोट– १५ का ८१ वर्षीय पुरुषको मंगलबार बिहान भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
साउन २५ गते मध्यबिन्दु जिल्ला अस्पताल, डण्डामा कोरोना परीक्षणका लागि स्वाब दिएकोमा सोही दिन रिपोर्ट पजिटिभ उनको भदौ १ गतेदेखि भरतपुर अस्पतालमा उपचार भइरहेको थियो। उनको मंगलबार बिहान उपचारको क्रममा निधन भएको नवलपुर प्रहरीले जनाएको छ।
त्यसैगरी, हुप्सेकोट– १ जुगेपानी बस्ने वर्ष ३५ का पुरुषको पनि कोभिड– १९ का कारण निधन भएको छ। उनलाई निमोनियासम्बन्धी बिरामी भई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर, चितवन लगेकोमा साउन ३० गते कोरोना पजिटिभ देखिएको थियो। उनलाई सोही दिन उपचारका लागि मेडिसिटी अस्पताल, काठमाडौं लगिएको थियो।
उनको उपचारकै क्रममा मेडिसिटी अस्पताल काठमाडौंमा मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ। नवलपुरमा योसहित कोभिड– १९ का कारण ज्यान गुमाउनेको संख्याका एक सय ६४ पुगेको छ।