नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टीको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।
बिहीबार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको ‘एक्काइसौँ शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तर्क्रियामा बोल्दै अध्यक्ष प्रचण्डले नेता माधवकुमार नेपालले दर्ता गरेको नयाँ पार्टीको सनाखत हुनासाथ एकैदिनमा मन्त्रिपरिषद् विस्तार हुने बताए।
यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, नेता नेपाल र आफूबीच बिहीबार बिहानको भेटमा समझदारी बनिसकेको पनि उनले उल्लेख गरे। ‘नयाँ परिस्थिति बनेको छ। आज बिहान मात्रै प्रधानमन्त्रीजी, माधव नेपालजी र म बसेका पनि थियौँ। अब मन्त्रिपरिषद् विस्तार गर्न ढिलो गर्नु हुँदैन, तुरुन्तै टुंग्याउनुपर्छ भनेँ । बिहान सबै पार्टीका नेताहरूको के समझदारी बनेको छ भने यो दर्ता भएको पार्टीको सनाखत हुनेबित्तिकै एकैदिनमा मन्त्रिपरिषद् टुंग्याइदिनुपर्छ भन्ने कुरा भएको छ,’ उनले भने, ‘जति छिटो उहाँहरूको सनाखत हुन्छ। त्यति छिटो मन्त्रिपरिषद् विस्तार हुन्छ।’
उनले विगतमा केपी ओलीले लोकतन्त्र, संविधान र गणतन्त्र सिध्याउन अध्यादेश ल्याएको भए पनि वर्तमान सरकारले अध्यादेश ल्याउनुकाे उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु रहेको बताए। ‘एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र सिध्याउनु, संविधान सिध्याउनु, गणतन्त्र सिध्याउनु थियो। अर्को अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु छ। यो दुईवटामा आकाश–जमिनको फरक छ भन्ने बुझ्न जरुरी छ,’ उनको भनाइ थियो।