अफगानिस्तानमा रहेका १३४ नेपाली सरकारको सम्पर्कमा

मंगलबार, १ भदौ, २०७८
डिजिटल संस्करण

अफगानिस्तानको पछिल्लो घटनापछि त्यहाँ रहेका एक सय ३४ नेपालीले आफूहरूलाई उद्धार गरिदिन आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार साँझसम्म ती नेपाली सम्पर्कमा आई उद्धारका लागि आग्रह गरेका हुन् । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अफगानिस्तानमा रहेका नेपाली र यहाँ रहेका उनका परिवारले उद्धारका लागि सम्पर्क गरेका हुन् । सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउन आइतबार एक कार्यदल गठन गरेको थियो । 

परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड– १९ संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्रांकित प्रथम श्रेणी वा सोसरहका सदस्य रहेका छन् । 

अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे जानकारी आउने क्रम बढेको र उचित परिस्थिति बनेपछि उनीहरूका उद्धारका हुने प्रवक्ता लम्सालले जानकारी दिइन् । उनले संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपेली संघ, जापानलगायत देशलाई आफ्नो नागरिक उद्धार गर्दा नेपालीको पनि उद्धार गरिदिन पत्राचार गरिएको बताइन् । 

संयुक्त राष्ट्रसंघलाई फोन र पत्रमार्फत पनि नेपालीको उद्धारका लागि अनुरोध गरिएको प्रवक्ता लम्सालले उल्लेख गरिन् । रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत अवस्था यकिन गरी आवश्यक समन्वय तथा उद्धारका लागि मुख्यसचिव शंकरदास बैरागीको कार्यकक्षमा आइतबार अन्तरमन्त्रालयको बैठकले कार्यदल गठन गरेको थियो । 

उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था गरिएको छ । अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई आग्रह गरिएको छ । 

यस्तै, उद्धारका लागि भाइबर, ह्वाट्सएपसहितको मोबाइल नम्बर ९७४९३२६४५८ र ९७४९३२६४५९ को व्यवस्था गरिएको छ । आफ्नो अवस्थाका बारेमा जानकारी गराउन वा मन्त्रालयमा सम्पर्क गर्न भनिएको छ । यस्तै सरकारले काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपालीको तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन विशेष पहल  गरिरहेको छ । रासस

सुझावित समाचार