गत शुक्रबार तालिवानले अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दहर कब्जामा लिएको घोषणा गर्यो। केही हप्ता अघिदेखि घेरा हालेर राखेको दक्षिण पूर्वी सहर कन्दहरलाई पूर्ण रुपमा कब्जा गरेको तालिवानले वक्तव्य जारी गर्दै जानकारी दियो।
अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि तालिवानले लगातार यहाँका मुख्य क्षेत्र कब्जामा लिइरहेको छ। तर, अन्य क्षेत्रको तुलनामा कन्दहर सहर तालिवानको नियन्त्रणमा गएपछि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय राजनीतिमा यसले ठूलो तरंग पैदा गरेको छ।
आर्थिक तथा सामरिक महत्व
जनसंख्याका आधारमा अफगानिस्तानको सबैभन्दा ठूलो मानिने पस्तुन समुदायको केन्द्र मानिन्छ यो सहर। तालिवानका संस्थापक मौलाना मुल्ला उमर तथा तालिवान समूहकै जन्मस्थान मानिने यो सहर आर्थिक र सामरिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ। जसले कन्दहर सहरमा नियन्त्रण राख्छ, उसले पुरा अफगानिस्तानलाई नियन्त्रणमा लिन्छ भन्ने मान्यता यहाँ स्थापित छ।
कृषि एवं औद्योगिक उत्पादनको दृष्टिले कन्दहर सहर तालिवान र सरकार पक्ष दुबैका लागि निकै महत्वपूर्ण छ। यसका अलावा यो सहर अफगानिस्तानको मुख्य व्यापारिक केन्द्रमध्येको एक हो भने यो सहर अफगानिस्तानको प्रमुख हवाई अड्डासमेत हो।
कन्दहर सहरको सीमा इरान र पाकिस्तानसँग जोडिएको छ। यसको सामरिक महत्वका कारण पनि पाकिस्तानले विभिन्न सहयोग गरेर तालिवानको संरक्षण गरिरहेको अफगान सरकारले आरोप लगाउने गरेको छ। यसअघि पनि विभिन्न समयमा व्यापारिक मार्गका रुपमा यस क्षेत्रमा सदिऔंदेखि विभिन्न शक्तिहरुबीच लडाईँ भएको इतिहास पाइन्छ।
भौगोलिक स्थितिका कारण कन्दहर विभिन्न साम्राज्य र शक्तिहरुको संघर्षको केन्द्र बन्दै आएको छ। सातौं शताब्दीमा अरबीहरुले तथा त्यसपछि मंगोल, मुलग र फारसीहरुले विभिन्न समयमा यो क्षेत्र कब्जा गरेका थिए। तत्कालिन भारत र परसिया (हालको इरान) जोड्ने भएकाले पनि कन्दहर सहर हरेक शताब्दीमा संघर्षको केन्द्र बनेको जानकारहरुको बुझाई छ। अमेरिकी सेना अफगानिस्तान आएपछि पनि यही सहरलाई लिएर तालिवानसँग बारम्बार संघर्ष भएको थियो। पहाड र मैदानी भूगोल मिश्रित यस क्षेत्र युद्धका लागि रणनीतिक रुपमा निकै महत्वपूर्ण छ।
सन् १९९९ डिसेम्बर २३ मा काठमाडौंबाट अपहरण गरिएको इन्डियन एयरलाइन्सको जहाज पनि कन्दहर लगिएको थियो। उक्त विमानमा १८० जना सवार थिए। एक जनाको भने अपहरणकारीले हत्या गरेका थिए। तत्कालीन अटल बिहारी वाजपेयी सरकारका विदेश मन्त्री जसवंत सिंह आफैले भारतीय जेलमा रहेका तीन चरमपन्थीलाई लिएर कन्दहार पुगेका थिए। जेलमा रहेका जैश-ए -मोहम्मदका प्रमुख मौलाना मसूद अजहर, अहमद जरगर र शेख अहमद उमर सईदलाई भारतले रिहा गरेपछि विमान अपहरणकारीले मुक्त गरेका थिए।
जातीय समुदायको प्रभाव
संयुक्त राष्ट्रसंघका अनुसार कन्दहर सहर पश्तुन समुदायको प्रभाव क्षेत्र हो। १४ लाख जनसंख्या भएको यस क्षेत्रमा ९८ प्रतिशत मानिसले पश्तो भाषा बोल्छन्।
यहाँको जातीय संरचना निकै जटिल प्रकारको छ। पोपलजई, बाराकजई, अल्कोजई, नुरजई र अलेजई यहाँका प्रमुख जनजाती हुन्। यहाँ राजनीतिक नियुक्ति गर्दासमेत यी जातीय समुदायको निष्ठा र मान्यताका विषयलाई निकै गम्भिरतापूर्वक विचार गरिन्छ।
चरमपन्थीका लागि शरणस्थल
उग्रवादीहरुको लागि कन्दहर क्षेत्र वैचारिक मात्र नभई युद्ध र शरणस्थलका लागि पनि निकै महत्वपूर्ण मानिन्छ। यहाँको चट्टान, मरुभूमी, पहाड, मैदान लगायतको विविधता भएको यो भूगोल उग्रवादीहरुको मुख्य रोजाईमा पर्ने गरेको जानकारहरु बताउँछन्।
इरान र पाकिस्तानसँगको सीमानाका कारण विद्रोहीहरु अवस्था अनुरुप यहाँबाट सहजै आवतजावत गर्न सक्छन्। यहाँको जातीय समूहहरुमा तालिवानको विशेष प्रभाव रहेकाले पनि उनीहरुलाई आश्रय लिन यहाँ अन्यत्रभन्दा सजिलो मानिन्छ।
सन् १८३९–४२ तथा सन् १८७९–८१ सम्म चलेको पहिलो र दोस्रो अफगान युद्धको समयमा ब्रिटिस सेनाले कन्दहर सहरमा कब्जा गरेको थियो। यस्तै, सन् १९७९–८९ मा सोभियत संघले अफगानिस्तान नियन्त्रणमा लिँदा पनि कन्दहरलाई नै आफ्नो मुख्य केन्द्र बनाएको थियो। एजेन्सी