सर्वोच्च अदालतले नेपालीलाई कोभिडबाट बचाउन सरकारका नाममा परमादेशसहितका विभिन्न आदेश जारी गरेको छ । आदेशमा सबैलाई समान रूपले खोप र स्वास्थ्य सेवाको व्यवस्था मिलाउन भनिएको छ ।
वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासले ११ जेठमा दिएको आदेशको पूर्णपाठ बिहीबार सार्वजनिक भएको हो । अधिवक्ताद्वय मोहना अन्सारी र शैलेन्द्रप्रसाद अम्बेडकरले हालेको रिटउपर सर्वोच्चले अन्तिम आदेश दिँदै स्वास्थ्य सेवामा अत्यधिक शुल्क लिने, औषधिमा मिसावट गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेजस्ता कार्य रोकेर स्वास्थ्य सेवा बिक्रीको अनुगमन र कारबाहीमा प्रभावकारिता ल्याउने व्यवस्था गर्न आदेश दिएको छ ।
‘कुनै कार्य गर्न नसक्नु र गर्न चाहना नहुनु फरक कुरा हो । राज्यपक्षले स्वास्थ्य अधिकारको निमित्त आफ्नो अधिकतम स्रोत साधनको प्रयोग गर्नुपर्दछ, अनुगमन गर्नुपर्दछ र अस्पताल व्यवस्थापनलाई उत्तरदायी बनाउनुपर्दछ,’ आदेशमा छ, ‘अब आउने तेस्रो चरणको महामारीलाई समेत ध्यानमा राखी हरेक अस्पतालमा तत्काल पर्याप्त मात्रामा आइसियू बेड, भेन्टिलेटर, अक्सिजनजस्तो जीवन रक्षाका लागि निरन्तर चाहिने मेसिनहरूको पर्याप्त व्यवस्था हरेक अस्पतालमा २४सै घन्टा र ३६५ दिन नै सञ्चालनमा रहने स्थितिमा राख्नू, राख्न लगाउनू भनी यो परमादेशको आदेश जारी गरिदिएको छ ।’
अक्सिजन, आइसियू बेड, भेन्टिलेटर, जनशक्तिलगायतको व्यवस्था गर्न नसक्नु राज्यको कमजोरी रहेको समेत बताएको छ । नागरिकको रक्षा गर्नु राज्यको दायित्व रहेकाले त्यसो नगर्दा संवैधानिक अधिकार हनन हुने सर्वोच्चको ठहर छ । संक्रमितको उपचारमा सरकारले दिएको छुट कार्यान्वयन नभएको, उपचार खर्चबापत चरम शुल्क लिएको विषयलाई पनि आदेशले सम्बोधन गरेको छ ।
सबै नेपालीलाई खोपमा पहुँचका लागि सरकारको प्रयत्न पर्याप्त नरहेको सर्वोच्चको निष्कर्ष छ । विकासशील मुलुकलाई सहयोग गर्नुपर्ने अन्तर्राष्ट्रिय समुदायको दायित्व रहेको आदेशमा छ । ‘खोपको निमित्त सरकारले सक्दो प्रयास गरिरहेको भनिए तापनि परिणाममा सीमित मात्रामा केही नेपालीले र विशेषगरी केही फ्रन्टलाइनमा कार्यरतहरूले मात्र खोप लगाउन सफल भएको छ,’ आदेशमा थप छ, ‘एकातिर नेपालले अझैसम्म पर्याप्त मात्रामा खोप ल्याउन सकेको छैन । अर्कोतिर ल्याइएको खोपको प्रयोग र वितरण समानुपातिक र न्यायोचित ढंगबाट हुन सकेको छैन, पर्याप्त अनुगमन पनि भएको पाइँदैन ।’
सर्वोच्चले मेडिकल कलेज सञ्चालनका लागि आवश्यक मापदण्डमै अक्सिजन प्लान्टको विषय पनि राख्न आदेश दिएको छ । साथै अक्सिजन प्लान्ट कन्सन्ट्रेटर बैंक स्थापनाको विषय पनि आदेशमा परेको छ । तेस्रो लहरका लागि पूर्वतयारी गर्न सर्वोच्चले सरकारलाई आदेश दिएको छ । ‘निजी मेडिकल कलेजको सञ्चालन स्वीकृति मापदण्डमै अक्सिजन प्लान्टको व्यवस्था गर्नु तथा अब तेस्रो लहरको कोरोना महामारीको खतराको डरको अवस्थामा आवश्यक सिलिन्डरसहित पर्याप्त र निरन्तर अक्सिजन आपूर्तिको व्यवस्था गर्नू,’ आदेशमा थप छ, ‘दोस्रो लहरको महामारीमा देखिएको र भोगिएको अक्सिजनको अभावलाई ध्यानमा राखी तेस्रो लहरमा आउन सक्ने संकटलाई समेत ध्यानमा राखी हरेक जिल्लामा अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना गरी गराई अक्सिजनको पर्याप्त र निरन्तर आपूर्तिको व्यवस्था गर्नू, गराउनू ।’
पुससम्म एक लाख ९३ हजार संक्रमित थपिने प्रक्षेपण

यो साता ६ प्रतिशतले कोरोना संक्रमित बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत हप्ताको तुलनामा एक सातामा ६ प्रतिशतले केस बढेको जनाएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बिहीबारको संसद् बैठकमा अघिल्लो साताभन्दा यो साता ६ प्रतिशतले कोभिड केस बढेको तथ्य प्रस्तुत गरेका हुन् ।
औसतमा नेपालमा कोभिड संक्रमण दर भने १९ प्रतिशतको वरिपरि छ । अघिल्लो साता र यो साता कोभिड संक्रमित संख्याका आधारमा केस बढेको मन्त्रालयले जनाएको छ । बिहीबार तीन हजार दुई ६० नयाँ संक्रमित थपिएका छन् । १५ चार सय ६२ परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घन्टामा ३२ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म करिब ३७ लाख २९ हजार एक सय ९ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । सात लाख २५ हजार सात सय ६९ संक्रमित पत्ता लागेका छन् । ६ लाख ७७ हजार तीन सय ७७ जना निको भइसकेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल जनसंख्याको १३ प्रतिशतको परीक्षण भएको छ । २.६ प्रतिशत संक्रमित छन् । औसत पजिटिभ प्रतिशत १९.४ रहेको छ । मृत्युदर १.५ प्रतिशत छ ।
संसद् बैठकमा मन्त्री श्रेष्ठले कोभिड संक्रमणको रोकथाम, व्यवस्थापन, उपचारलगायतका विषयमा जानकारी दिएका थिए । उनले हाल पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या १९ पुगेको बताए । ‘आगामी पाँच महिनामा थप अनुमानित एक लाख ९३ हजार संक्रमित हुनेछन् । करिब ३८ हजारलाई अस्पतालमा भर्ना गर्नुपर्ने हुन सक्छ । जसमध्ये नौ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्नेछ, सोही प्रक्षेपणअनुसार मन्त्रालयले काम गरिरहेको छ,’ उनले भने ।
हालसम्म एक करोड आठ लाख ६० हजार एक सय ७० मात्रा खोप आइसकेको उनले जानकारी दिए । यसमध्ये पहिलो मात्रा ४५ लाख ७० हजार पाँच सय ५३ बढीले लगाएका छन् । जुन कुल जनसंख्याको १५ प्रतिशत हो । त्यस्तै, पूर्ण मात्रा खोप लगाउने २८ लाख ८८ हजार तीन सय ६० जना छन् । यो संख्या कुल जनसंख्याको ९ प्रतिशत हो । राज्यमन्त्री श्रेष्ठले तीन करोड ३६ लाख ७१ हजार नौ सय ५० मात्रा खोप आउने प्रक्रियामा रहेको जानकारी दिए । जसमध्ये असोज मसान्तसम्म एक करोड दुई लाख डोज र माघसम्म तीन करोड २३ लाख डोज खोप थप प्राप्त हुनेछ । आगामी चैतसम्म आपूर्ति हुने खोप पाँच करोड २२ लाख पुग्ने अनुमान छ ।
देशभर २० लाख खोप मौज्दात
स्वास्थ्य मन्त्रालयले बुधबारसम्म देशभर २० लाख खोप मौज्दात रहेको जनाएको छ । तथ्यांकअनुसार भेरोसेल नौ लाख, एस्ट्राजेनेका ११ लाख ५० हजार र जोन्सन एन्ड जोन्सन २१ हजार गरी कुल २० लाख ७१ हजार मात्रा जिल्ला र प्रदेशमा मौज्दात छ । त्यस्तै, एस्ट्राजेनेका एक लाख ६१ हजार, जोन्सन १२ हजार गरी केन्द्रमा भएको कुल एक लाख ७३ हजार मात्रा वितरणको क्रममा रहेको छ ।
खोप अपडेट
- आपूर्ति : एक करोड आठ लाख ६० हजार एक सय ७० डोज
- पहिलो मात्रा लगाउने : ४५ लाख ७० हजार पाँच सय ५३ (१५ प्रतिशत)
- पूर्ण मात्रा लगाउने : २८ लाख ८८ हजार तीन सय ६० (९ प्रतिशत)
६ हजार अक्सिजन सिलिन्डर थप
स्वास्थ्य मन्त्रालयले अक्सिजन व्यवस्थापनमा गम्भीर भएर लागेको जनाएको छ । अघिल्लो चरणमा कैयौं नागरिकको अक्सिजन अभावमा ज्यान भएको थियो । अक्सिजन आपूर्ति व्यवस्थालाई सुदृढ गर्न ६ हजार अक्सिजन सिलिन्डर थप गरिएको छ । देशमा करिब ८० हजार अक्सिजन सिलिन्डर छन् । ५५ सय अक्सिजन कन्सन्ट्रेटरको व्यवस्था भइसकेको र थप ३५ सय आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ । २७ वटा लिक्विड अक्सिजन ट्यांक थप गर्ने योजनाअन्तर्गत दुईवटाको कार्य सम्पन्न भइसकेको छ । चारवटाको प्रक्रिया सुरु भएको र १० वटाका लागि सूचना प्रकाशित गरिएको छ ।
विगतमा प्रतिहप्ता १५ मेट्रिकटन अक्सिजन आपूर्ति हुने गरेकोमा हाल १२० मेट्रिकटन आपूर्ति भइरहेको मन्त्री श्रेष्ठले बताए । उनले ७७ वटै जिल्ला र १९ वटा ठूला अस्पतालमा अक्सिजन प्लान्ट थप गर्न स्रोत सुनिश्चितता गरिएको उक्त काम भदौ महिनाभित्र सम्पन्न गर्ने योजना रहेको जानकारी दिए ।
देशभर आइसियूको संख्या बढाइएको मन्त्रालयले जनाएको छ । विगतमा २६ सय रहेकोमा चार सय थप गरी तीन हजार आइसियू पुर्याइएको छ । साथै, ६ सय ३० थप गर्ने प्रक्रियामा रहेको मन्त्री श्रेष्ठले जानकारी दिए । उनका अनुसार भेन्टिलेटर एक हजार ७५ रहेकोमा नौ सय थप गरिएको छ । एक सय ८० थप गर्ने प्रक्रियामा छ । सरकारी अस्पतालमा हाई डिपेन्डेन्सी युनिट बेड संख्या दुई हजार ७५ र निजीमा सात सय ७८ थप गरी सञ्चालनमा ल्याइएको छ ।
१४ सय थप्ने क्रममा रहेको मन्त्री श्रेष्ठले बताए । तेस्रो लहरमा बालबालिका संक्रमित हुने तथ्यलाई मध्यनजर गरी सरकारी तवरबाट एक सय ८० भेन्टिलेटरसहितको दुई सय ७५ आइसियू बेड थप्ने प्रक्रिया अघि बढेको छ । साथै, निजी क्षेत्र विशेष गरी बैंक तथा वित्तीय संस्थाबाट देशभर एक सय ६६ बेडको एचडियू, पिआइसियू बाल सघन उपचार कक्षको निर्माण र सूची फाउन्डेसन र हिकाफ–३६० भन्ने संस्थामार्फत दुई सय ६५ वटा भेन्टिलेटर थप हुँदै छन् ।
खोपमा दुई नम्बरी गर्नेलाई कारबाही हुन्छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोपमा दुई नम्बरी गर्नेलाई ठाडै थुनिने र कारबाही गरिने चेतावनी दिएका छन् । यस विषयमा आफूले गृह मन्त्रालय र पुलिस प्रशासनसँग पनि छलफल गरिसकेको बताए । ‘आफैँ गएर मैले गृहमन्त्री र पुलिस प्रशासनसँग बैठक गरेँ । जसले खोपमा दुई नम्बरी गर्छ, जसले व्यापार गर्छ, त्यसलाई ठाडै थुन्ने र कारबाही गर्ने व्यवस्था मिलाउनुपर्छ,’ उनले भने ।
राज्यमन्त्री श्रेष्ठले असोजसम्म ३३ प्रतिशतले खोप पाउने जानकारी दिए । उनले भने, ‘दुई करोड पाँच लाख खोप असोजसम्म प्राप्त हुनेवाला छ । यो प्राप्त भएको खोप ३३ प्रतिशत जनतालाई (यो सुनिश्चितता पनि भइसकेको छ) लगाउने हो ।’ चैतसम्म साढे पाँच करोड खोप आउने पनि मन्त्री श्रेष्ठले बताए ।
उनले बालबालिकाका लागि एक करोड खोपको सुनिश्चितता भइसकेको जानकारी दिए । उक्त खोप १२ देखि १८ वर्ष उमेर समूहका मानिसमा केन्द्रित हुने उनको भनाइ थियो । ‘फाइजर र मोडेर्नाको एक करोड खोप १२ देखि १८ वर्षसम्मको बच्चाका लागि सुनिश्चितता गरेको छ,’ उनले भने । मन्त्रालयको तथ्यांकअनुसार पुस–माघमा बालबालिकाका लागि लक्षित गरिएको फाइजर खोप आउनेछ ।