यो साता ६ प्रतिशतले कोरोना संक्रमित बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत हप्ताको तुलनामा एक सातामा ६ प्रतिशतले केस बढेको जनाएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बिहीबारको संसद् बैठकमा अघिल्लो साताभन्दा यो साता ६ प्रतिशतले कोभिड केस बढेको तथ्य प्रस्तुत गरेका हुन् ।
औसतमा नेपालमा कोभिड संक्रमण दर भने १९ प्रतिशतको वरिपरि छ । अघिल्लो साता र यो साता कोभिड संक्रमित संख्याका आधारमा केस बढेको मन्त्रालयले जनाएको छ । बिहीबार तीन हजार दुई ६० नयाँ संक्रमित थपिएका छन् । १५ चार सय ६२ परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घन्टामा ३२ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म करिब ३७ लाख २९ हजार एक सय नाैजनाको पिसिआर विधिबाट परीक्षण भएको छ । सात लाख २५ हजार सात सय ६९ संक्रमित पत्ता लागेका छन् । ६ लाख ७७ हजार तीन सय ७७ जना निको भइसकेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल जनसंख्याको १३ प्रतिशतको परीक्षण भएको छ । २.६ प्रतिशत संक्रमित छन् । औसत पजिटिभ प्रतिशत १९.४ रहेको छ । मृत्युदर १.५ प्रतिशत छ ।
संसद् बैठकमा मन्त्री श्रेष्ठले कोभिड संक्रमणको रोकथाम, व्यवस्थापन, उपचारलगायतका विषयमा जानकारी दिएका थिए । उनले हाल पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या १९ पुगेको बताए । ‘आगामी पाँच महिनामा थप अनुमानित एक लाख ९३ हजार संक्रमित हुनेछन् । करिब ३८ हजारलाई अस्पतालमा भर्ना गर्नुपर्ने हुन सक्छ । जसमध्ये नौ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्नेछ, सोही प्रक्षेपणअनुसार मन्त्रालयले काम गरिरहेको छ,’ उनले भने ।
आगामी पाँच महिनामा थप अनुमानित एक लाख ९३ हजार संक्रमित हुनेछन् । करिब ३८ हजारलाई अस्पतालमा भर्ना गर्नुपर्ने हुन सक्छ । जसमध्ये नौ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्नेछ
हालसम्म एक करोड आठ लाख ६० हजार एक सय ७० मात्रा खोप आइसकेको उनले जानकारी दिए । यसमध्ये पहिलो मात्रा ४५ लाख ७० हजार पाँच सय ५३ बढीले लगाएका छन् । जुन कुल जनसंख्याको १५ प्रतिशत हो । त्यस्तै, पूर्ण मात्रा खोप लगाउने २८ लाख ८८ हजार तीन सय ६० जना छन् । यो संख्या कुल जनसंख्याको ९ प्रतिशत हो । राज्यमन्त्री श्रेष्ठले तीन करोड ३६ लाख ७१ हजार नौ सय ५० मात्रा खोप आउने प्रक्रियामा रहेको जानकारी दिए । जसमध्ये असोज मसान्तसम्म एक करोड दुई लाख डोज र माघसम्म तीन करोड २३ लाख डोज खोप थप प्राप्त हुनेछ । आगामी चैतसम्म आपूर्ति हुने खोप पाँच करोड २२ लाख पुग्ने अनुमान छ ।
देशभर २० लाख खोप मौज्दात
स्वास्थ्य मन्त्रालयले बुधबारसम्म देशभर २० लाख खोप मौज्दात रहेको जनाएको छ । तथ्यांकअनुसार भेरोसेल नौ लाख, एस्ट्राजेनेका ११ लाख ५० हजार र जोन्सन एन्ड जोन्सन २१ हजार गरी कुल २० लाख ७१ हजार मात्रा जिल्ला र प्रदेशमा मौज्दात छ । त्यस्तै, एस्ट्राजेनेका एक लाख ६१ हजार, जोन्सन १२ हजार गरी केन्द्रमा भएको कुल एक लाख ७३ हजार मात्रा वितरणको क्रममा रहेको छ ।
६ हजार अक्सिजन सिलिन्डर थप
स्वास्थ्य मन्त्रालयले अक्सिजन व्यवस्थापनमा गम्भीर भएर लागेको जनाएको छ । अघिल्लो चरणमा कैयौं नागरिकको अक्सिजन अभावमा ज्यान भएको थियो । अक्सिजन आपूर्ति व्यवस्थालाई सुदृढ गर्न ६ हजार अक्सिजन सिलिन्डर थप गरिएको छ । देशमा करिब ८० हजार अक्सिजन सिलिन्डर छन् । ५५ सय अक्सिजन कन्सन्ट्रेटरको व्यवस्था भइसकेको र थप ३५ सय आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ । २७ वटा लिक्विड अक्सिजन ट्यांक थप गर्ने योजनाअन्तर्गत दुईवटाको कार्य सम्पन्न भइसकेको छ । चारवटाको प्रक्रिया सुरु भएको र १० वटाका लागि सूचना प्रकाशित गरिएको छ ।
विगतमा प्रतिहप्ता १५ मेट्रिकटन अक्सिजन आपूर्ति हुने गरेकोमा हाल १२० मेट्रिकटन आपूर्ति भइरहेको मन्त्री श्रेष्ठले बताए । उनले ७७ वटै जिल्ला र १९ वटा ठूला अस्पतालमा अक्सिजन प्लान्ट थप गर्न स्रोत सुनिश्चितता गरिएको उक्त काम भदौ महिनाभित्र सम्पन्न गर्ने योजना रहेको जानकारी दिए ।
देशभर आइसियूको संख्या बढाइएको मन्त्रालयले जनाएको छ । विगतमा २६ सय रहेकोमा चार सय थप गरी तीन हजार आइसियू पुर्याइएको छ । साथै, ६ सय ३० थप गर्ने प्रक्रियामा रहेको मन्त्री श्रेष्ठले जानकारी दिए । उनका अनुसार भेन्टिलेटर एक हजार ७५ रहेकोमा नौ सय थप गरिएको छ । एक सय ८० थप गर्ने प्रक्रियामा छ । सरकारी अस्पतालमा हाई डिपेन्डेन्सी युनिट बेड संख्या दुई हजार ७५ र निजीमा सात सय ७८ थप गरी सञ्चालनमा ल्याइएको छ । १४ सय थप्ने क्रममा रहेको मन्त्री श्रेष्ठले बताए ।
तेस्रो लहरमा बालबालिका संक्रमित हुने तथ्यलाई मध्यनजर गरी सरकारी तवरबाट एक सय ८० भेन्टिलेटरसहितको दुई सय ७५ आइसियू बेड थप्ने प्रक्रिया अघि बढेको छ । साथै, निजी क्षेत्र विशेष गरी बैंक तथा वित्तीय संस्थाबाट देशभर एक सय ६६ बेडको एचडियू, पिआइसियू बाल सघन उपचार कक्षको निर्माण र सूची फाउन्डेसन र हिकाफ–३६० भन्ने संस्थामार्फत दुई सय ६५ वटा भेन्टिलेटर थप हुँदै छन् ।