तपाईंहरूले सम्मानजनक एकताका लागि संगठनात्मक गतिविधि रोक्न संस्थापन पक्षलाई आग्रह गर्नुभएको थियो, तर ओलीले बैठक राखेर विधान नै संशोधनको प्रस्ताव पारित गर्नुभएको छ, यसमा तपाईंहरूको प्रतिक्रिया के छ ?
यो गुटले २८ फागुनयता गरेका हरेक निर्णय अमान्य छन् । गुटको बैठकले गरेको निर्णय पार्टीको निर्णय होइन, हामीलाई स्वीकार्य छैन । उनीहरू गुटको बैठकबाट निर्णय गरेर पार्टीको निर्णय भनिरहेका छन्, यो भ्रम हो । २ जेठको केन्द्रीय कमिटी बैठक बसेपछि त्यसबाट हुने निर्णय मात्रै पार्टीका निर्णय हुन् ।
त्यसैले योे ओलीको पार्टी विभाजन गर्ने मनसायको अभिव्यक्ति हो । हामी पनि हाम्रो अस्तिको केन्द्रीय समिति बैठकबाट निर्णय गर्न सक्थ्यौँ । तर, हामीले केही पनि गरेनौँ, किनभने पार्टी एकता हाम्रो प्राथमिकता हो ।
२४ गतेका लागि बोलाएको बैठक, पार्टी सदस्यता वितरण र अधिवेशनलगायत सबै गतिविधि रोक भनेर पार्टी एकताका लागि अवसर दियौँ । उनीहरूले बैठक २५ गतेका लागि त सारे, तर त्यो मौकालाई दुरुपयोग गर्दै जे–जस्ता निर्णय गरे ती सबै गुटका निर्णय हुन् । यसबाट ओली पार्टी एकता चाहँदैनन् भनेर दुनियाँले बुझ्ने गरी प्रस्ट भएको छ । हामी यहीअनुसार अगाडि बढ्छौँ ।
तपाईंहरूको आग्रहअनुसार नै ओलीले बैठक एक दिन त सारेकै हो, तर पनि किन सहमति हुन सकेन ?
यसको कारण ओलीको बेइमानी हो । ओली स्वयंले एक चरणमा सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेललाई पठाएर, दोस्रो चरणमा हाम्रो पक्षका भीम रावल र सुरेन्द्र पाण्डेलाई बोलाएर र तेस्रो चरणमा माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेलाई पठाएर विभिन्न प्रस्ताव पठाए । त्यस प्रस्तावमा उनले दुवैजना बराबरी हैसियतको अध्यक्ष बन्ने, दुवैजनाको हस्ताक्षर चलाउने, पार्टीका सबै संरचनालाई २ जेठमा फर्काउने भनेर भनेका थिए ।
ओलीले त्यसका लागि तीनवटै टोलीसँग माधव नेपाललाई मनाउनुपर्यो म तयार छु भनेपछि सबैले प्रयास गर्नुभयो । सबैले मिहिनेत गरेर दुई अध्यक्षमा बस्दै बस्दिनँ भनेका माधव नेपाललाई अनुरोध गरेपछि उहाँले लिखित रूपमा लेखेर ल्याउनुहोस् भन्नुभयो । त्यसपछि जब उत्साहका साथ सुवास नेम्वाङ, विष्णु पौडेल, भीम रावल र सुरेन्द्र पाण्डे ओलीलाई यो कुरा लिएर भेट्न जानुभयो उहाँले मान्दिनँ भन्दिनुभयो ।
त्यसपछि उहाँहरूले हिजोअस्ति तपाईंले नै भनेको कुरा के हो भनेर सोध्दा, हिजोअस्तिको कुरा सकियो म मान्दिनँ भनेर पठाउनुभयो । त्यसैका कारण अहिले उहाँकै क्याम्पमा पनि विश्वास गुमाउँदै जानुभएको छ । हाम्रा साथीहरूमा कुनै भ्रम थियो भने त्यो टुटेको छ ।
सम्मानजनक एकताको अर्थ समान हैसियतको अध्यक्ष र हस्ताक्षरमा संस्थापन पक्ष तयार भएन भन्ने देखिएपछि पनि तपाईंहरू अझै एकताको अर्को विकल्पको खोजीमा हुनुहुन्छ ?
हामीले यतिसम्म प्रयास गर्दा पनि ओली एकल चलो भनेजस्तो गरी हिँड्नुभयो । उहाँ सिंगो एमालेको अध्यक्ष नभएर भुरे–टाकुरे एउटा जमानत जफत हुने पार्टीको अध्यक्ष हुन रुचाएका छन् भन्ने यसबाट प्रस्ट बुझियो । उहाँ नै यसरी अगाडि बढेपछि एकताको विषयमा कसरी छलफल गर्ने ? जब उहाँ आफैँले बोलेको कुरामा नटिक्ने मान्छेसँग थप विकल्पमा कसरी जानु !
अब तपाईंहरू के गर्नुहुन्छ ?
अब राजनीतिक कोर्स नयाँ ढंगले अगाडि बढ्छ । यो तपाईंले चाँडै नै थाहा पाउनुहुन्छ । हामी राजनीतिक प्राणी हौँ, यत्तिकै बस्दैनौँ । संविधान, कानुन, नियमअनुसार राजनीतिक दलले पूरा गर्नुपर्ने प्रावधान पूरा गरेर हामी अगाडि बढ्छौँ ।
माधव नेपालसहितको एकताका लागि कोसिस गर्ने, सहमति भएन भने विघटित कार्यदलका सदस्यसहितको स्थायी समितिबाट एकढिक्का भएर निर्णय गर्ने तपाईंहरूको निष्कर्ष थियो ? अब कसरी अगाडि बढ्नुहुन्छ ?
यति भएपछि त अब स्थायी कमिटी मात्रै होइन, कुनै पनि साथीहरूलाई द्विविधा रहेन । केपी ओली को हो भन्ने कुरा स्पष्ट भइसकेको छ । त्यति हुँदा पनि कोही अलमलिन्छ भन्ने लाग्दैन ।
एमालेको एकता धेरै नै जोखिम भयो कि नाटकीय रूपमा सहमति जुटाउने सम्भावना देख्नुहुन्छ ?
मचाहिँ देख्दिनँ, सकियो ।
सरकारमा तपाईंहरू अब सामेल हुनुहुन्छ कि हुनुहुन्न ?
एउटा बिन्दुको लडाइँ सकिएपछि सरकार त्यसपछिको विषय हो । हामीले पुनर्स्थापना गरेको संसद् हो, हामीले बनाएको सरकार हो । त्यसकारण सहभागी भयौँ भने कुनै अनौठो होइन ।