शुल्क तिर्न ढिलाइ हुँदा प्रिन्सिपलद्वारा विद्यार्थीकाे परिवारमाथि नै कुटपिट

मंगलबार, २६ साउन, २०७८
डिजिटल संस्करण

सिराहाको मिर्चैया नगरपालिकामा रहेको एक निजी विद्यालयका प्रिन्सिपलले विद्यालयको बक्यौता शुल्क भुक्तानमा ढिलाइ गरेको भन्दै एक विद्यार्थीकाे  परिवारमाथि कुटपिट गरेका छन् ।  मिर्चैया नगरपालिका– १० मथलेश्वरमा रहेको राजदेवी इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले विद्यालयको शुल्क तिर्न ढिलाइ गरेको भन्दै विद्यार्थीका अभिभावकसहित परिवारका अन्य सदस्यमाथि कुटपिट गरेका हुन् । उक्त विद्यालयको युकेजी कक्षामा अध्ययनरत नवीनकुमार साहको अभिभावकमाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाले प्रिन्सिपल साहले विद्यार्थीका बुबा अशोक, आमा सुनितादेवी, दिदीहरू सरिता र अञ्जलीमाथि कुटपिट गरेकाे जनाएको छ । विद्यालयको बक्यौता रहेको करिब ५–६ हजार रुपैयाँ भुक्तानी गर्न ढिलाइ हुँदा कुटपिट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेन्द्र श्रेष्ठले बताए ।

घटना यसरी भयो 
मिर्चैया नगरपालिका– १० मथलेश्वर बजारमा पान पसल सञ्चालन गर्दै आएका अशोकसँग रकम माग्न पसलमै प्रिन्सिपल साह पुगेका थिए । लकडाउनका कारण आर्थिक समस्या भएकोले विद्यालयको शुल्क दिन ढिलाइ भएको अशोकले प्रिन्सिपलसँग अप्ठ्यारा सुनाए । प्रिन्सिपल साहले अहिले नै पैसा दिनुपर्छ भन्दै अपशब्द प्रयोग गर्दै कुटपिटमा उत्रेको पीडित पक्षको भनाइ छ । 

कुटपिट भइरहेको देखेपछि घरपरिवारका अन्य सदस्य छुट्याउन पुगेका थिए । अशोककी पत्नी सुनितादेवी, जेठी छोरी सरिता र माइली छोरी अञ्जली छुट्याउन पुग्दा प्रिन्सिपल साह उनीहरूमाथि पनि जाइलागेका थिए ।  त्यसक्रममा कुटपिटबाट अशोक र उनकी छोरी सरिता गम्भीर घाइते भएका छिन् । अशोकको टाउकोमा चोट लागेको छ भने छोरी सरिताको हात भाँच्चिएको र टाउको पनि फुटेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी श्रेष्ठले बताए । गम्भीर घाइते भएका दुवैजनालाई मिर्चैयामा प्राथमिक उपचारपछि थप उपचार गर्न विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य सामान्य घाइतेहरूको उपचार मिर्चैयामै भइरहेको छ । यता कुटपिटमा संलग्न प्रिन्सिपल साह फरार भएका छन् । मिर्चैयाका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रेष्ठले कुटपिटमा संलग्न प्रिन्सिपल साहको खोजीकार्य भइरहेको बताए ।
 
गृहकार्य नगरेको भन्दै हात भाँच्चिने गरी विद्यार्थीलाई कुटपिट
मिर्चैयामा निजी विद्यालयले परिवार र विद्यार्थीमाथि कुटपिट गरेको यो पहिलो घटना होइन । दुई वर्षअघि मिर्चैयामा रहेको स्वस्तिक पाठशालामा गृहकार्य नगरेको भन्दै एक विद्यार्थीलाई शिक्षकले हात भाँच्चिने गरी कुटपिट गरेका थिए । मिर्चैयाको कटारी चाेकनजिकै रहेको स्वस्तिक पाठशाला कक्षा ६ मा अध्ययनरत सिराहा नगरपालिका– २ का १२ वर्षीय रितिक यादवलाई गृहकार्य नगरेको भन्दै शिक्षकले ०७६ माघ १० मा कुटपिट गरेका थिए ।  

See More On

सुझावित समाचार