कोरोनाका कारण साढे १५ करोड बालबालिका विद्यालय जानबाट वञ्चित : युएन

कोरोना भाइरसको असर

आइतबार, २४ साउन, २०७८
डिजिटल संस्करण

सन् २०१९ को अन्त्यदेखि विश्वभर कोरोना भाइरस सुरु भयो । सुरुवाती चरणमा कोरोना भाइरसलाई सबैले हल्का रूपमा लिएका थिए । अन्य भाइरलजस्तै कोरोना पनि केही महिनापछि विश्वबाट हट्ने धेरैको विश्वास थियो । तर, झन्डै दुई वर्षदेखि यो भाइरसबाट विश्व आक्रान्त बनिरहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार बिहीबारसम्म विश्वभर २० करोड १२ लाख ६९ हजार सात सय ८९ जना संक्रमित बनेका छन् । जसमध्ये १८ करोड १२ लाख नौ हजार सात सय ९६ जना निको भएका छन् । 

युरोपका धेरैजसो देशले लर्निङ पासपोर्ट विधि अपनाएका छन् । यो विधिमार्फत विद्यार्थीलाई अनलाइन शिक्षा प्रदान गरिन्छ । लर्निङ पासपोर्ट विधि सञ्चालन गर्न युनिसेफ, क्याम्ब्रिज विश्वविद्यालय तथा माइक्रोसफ्टले कोर्स तयार पारेका छन् ।
 

कोरोनाका कारण ४२ लाख ७५ हजार एक सय ३९ जनाले ज्यान गुमाएका छन् । कोरोनाका कारण सिंगो विश्वको अर्थतन्त्र धराशायी बनेको छ । कतिपय विकसित देशले समेत कोरोनाका कारण आगामी केही वर्षसम्म आर्थिक संकटमा पर्ने घोषणा गरिसकेका छन् । एकातिर कोरोना भाइरसले देशको अर्थतन्त्र धरमराइरहेको वेला शिक्षा क्षेत्रमा समेत गम्भीर असर पारेको संयुक्त राष्ट्र महासंघ (युएन)ले जनाएको छ । कोरोनाका कारण समग्रमा १५ करोड ६० लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएको युएनको भनाइ छ ।

यसमध्ये दुई करोड ५० लाख बालबालिका पुनः स्कुल जान नसक्ने अवस्थामा पुगेको महासंघका महासचिव एन्टोनियो गुटेरेसले आशंका व्यक्त गरेका छन् । गुटेरेसले सामाजिक सञ्जालमा कोरोनाले सबैभन्दा ठूलो असर गरेको क्षेत्र शिक्षा भएको बताएका छन् । ‘कोरोनाकालमा शिक्षा क्षेत्र ठूलै संकटपूर्ण अवस्थामा हिँडिरहेको छ, विश्वका अधिकांश देशका स्कुल तथा कलेज बन्द छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बालबालिकामाथि कोरोनाका कारण मानसिक असरसमेत पुर्‍याउने देखेको छु ।’ 

गुटेरेसले कोरोनाकालमा भौतिकभन्दा पनि डिजिटल शिक्षालाई प्राथमिकतामा राख्न सुझाब पनि दिएका छन् । ‘यो संकटपूर्ण अवस्थामा हामीले स्कुलदेखि विश्वविद्यालयका विद्यार्थीलाई डिजिटल प्रविधिमा अभ्यस्त बनाउनुपर्छ, यसलाई सबैले पहिलो प्राथमिकतामा राख्नुपर्छ, जसबाट भविष्यमा कोही पनि शिक्षाबाट वञ्चित नहोस्,’ उनले भने ।

विश्वका आधा विद्यालय दुई सय दिनसम्म बन्द : युनिसेफ

युनिसेफका प्रवक्ता जेम्स एल्डरले कोरोनाकालमा विश्वका ५० प्रतिशत देशमा विद्यालय दुई सय दिनसम्म बन्द नै रहेको बताएका छन् । दक्षिण अमेरिकाका १८ देशमा पूर्ण तथा आंशिक रूपमै स्कुल तथा कलेज बन्द भएका छन् । उनका अनुसार पूर्वी तथा दक्षिण अफ्रिकामा पाँचदेखि १८ वर्ष उमेरका ४० प्रतिशत विद्यार्थीले पढ्न पाएका छैनन् ।

यसैगरी, पूर्वी तथा प्रशान्त क्षेत्रका आठ करोड बालबालिका अहिले शिक्षाबाट टाढिएको उनले बताए । युनिसेफको एक प्रतिवेदनमा मार्च २०२० देखि फेब्रुअरी २०२१ सम्म विश्वका १४ देशका ठूला स्कुल पुनः सञ्चालनमा नआउने गरी बन्द भएको उल्लेख छ । युरोपका धेरैजसो देशले लर्निङ पासपोर्ट विधि अपनाएका छन् । यो विधि भनेको विद्यार्थीलाई अनलाइन शिक्षा प्रदान गर्नु हो । युरोपमा लर्निङ पासपोर्ट अध्ययन सञ्चालन गर्न युनिसेफ, क्याम्ब्रिज विश्वविद्यालय तथा माइक्रोसफ्टले कोर्स तयार पारेका छन् । यसमा अनलाइनमा पढ्ने विद्यार्थीलाई उनीहरूले नै सबै कोर्सबुक उपलब्ध गराइरहेका छन् । 

दक्षिण एसियाका २२ प्रतिशत बालबालिका शिक्षाबाट वञ्चित 
महासंघको एक तथ्यांकअनुसार कोरोनाले शिक्षा क्षेत्रमा सबैभन्दा ठूलो असर दक्षिण अमेरिका तथा क्यारेबियन क्षेत्रमा गरेको छ । यस क्षेत्रमा ५८ प्रतिशत बालबालिका स्कुल जान पाएका छैनन् । त्यसपछि दक्षिण एसियामा २२ प्रतिशत बालबालिका शिक्षाबाट वञ्चित छन् । मध्यपूर्व–उत्तर अफ्रिकामा सबैभन्दा कम प्रभाव पारेको छ । यहाँ पाँच प्रतिशत बालबालिका कोरोनाकालमा स्कुल गएका छैनन् । पूर्वी एसिया तथा प्रशान्त क्षेत्रमा कोरोनाले शिक्षा क्षेत्रमा १५ प्रतिशत असर गरेको छ । 

See More On

सुझावित समाचार