विवादमा रहेको अल्जाइमरको औषधि प्रयोगमा स्वीकृति

आइतबार, १७ साउन, २०७८
डिजिटल संस्करण

बायोजनले उत्पादन गरेको ‘अडुकनुमाब’ नामक औषधि स्वीकृतको विषयलाई लिएर विवादित भइरहेका वेला यो औषधिले अल्जाइमरका बिरामीले प्रयोग गर्न सक्ने गरी अनुमति पाएको छ । अमेरिकी फुड तथा ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले दुई महिनाअघि मात्रै ‘अडुकनुमाब’ प्रयोगका लागि कुनै आधार नभएको दाबीसहित प्रयोग गर्न नहुने भन्दै अस्वीकृत गरेको थियो । यसअघि पनि औषधिले अल्जाइमरका बिरामीमा कुनै प्रभाव नदेखिएको भन्दै विज्ञहरूको प्यानलले औषधि प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेको थिए । तर, ७ जुनमा एफडिएले औषधि प्रयोगमा अनुमति दिएपछि विभिन्न विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यसको आलोचना गरिरहेका छन् । 

अनुसन्धानको क्रममा रोगविरुद्ध प्रभावकारी नदेखिएको औषधिलाई एकाएक प्रयोग गर्न अनुमति दिएपछि एफडिएको विश्वभर विरोध भइरहेको छ । योसँगै औषधिको मूल्यलाई लिएरसमेत आलोचना भइरहेको छ । आलोचकहरूले एफडिएले बायोजन कम्पनीसँगको निकै नजिकको सम्बन्धका कारण औषधिलाई विनाआधार अनुमोदन गरेको आरोपसमेत लागेको छ ।

यस्तो छ एफडिएको दाबी

एफडिएले भने औषधिको प्रभावकारिताबारे अध्ययन गरेर स्वीकृत गरेको जनाएको छ । बायोजनले अल्जाइमरको औषधिमाथि १८ वर्षदेखि अध्ययन गर्दै आइरहेको छ । औषधि स्वीकृतिको निर्णय वैज्ञानिकहरूको निर्णयका आधारमा गरिएको र यसबारे थप अनुसन्धान गरिने एफडिएको भनाइ छ । औषधि स्वीकृतबारे केही वैज्ञानिकले सर्मथन गरे पनि धेरैजसोले मेडिकल क्षेत्रमा ठूलो गल्ती भएको बताएका छन् । उनीहरूका अनुसार, अनुसन्धानबाट पुष्टि नभएका कारण बिरामीमा औषधिको प्रभाव दिमागमा सुजन वा मस्तिष्कमा रक्तस्राव पनि देखिन सक्छ ।

अल्जाइमर रोगका बिरामीको संख्या प्रतिवर्ष बढ्दै गएको तथ्यांकले देखाउँछ । तर, औषधि र उपचार अभावका कारण हरेक चारजनामध्ये एकजनाको मात्र रोग निदान हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर करिब ४४ मिलियन मानिस अल्जाइमर रोग वा डिमेन्सियासम्बन्धी रोगसँग लडिरहेका छन् । अल्जाइमर निकै पुरानो रोग भए पनि औषधिको सीमितताका कारण पूर्ण उपचार भएको पाइँदैन । विश्वभर सबैभन्दा धेरै ५.५ मिलियन अमेरिकी अल्जाइमरको समस्यासँग जुधिरहेको एफडिएले जनाएको छ । 

यो संख्या प्रतिवर्ष बढ्दो छ । अल्जाइमर्स एसोसियसनको तथ्यांकअनुसार अल्जाइमर भएकाहरूमध्ये करिब दुईतिहाइ महिला छन् । अल्जाइमर रोग र डिमेन्सिया पश्चिमी युरोपमा धेरै सामान्य मानिन्छ । ६५ वर्ष उमेरमाथिका समूहमा बढी देखिने यो रोगबाट अफ्रिकी–अमेरिकीहरू बढी प्रभावित छन् ।

सुझावित समाचार