लोकतन्त्र लज्जाजनक नेतातन्त्रमा परिणत भइरहेको छ । यो नेतातन्त्रमा राज्यका सबै स्रोत नेताले नेताद्वारा नेताका लागि दोहन भइरहेका छन् । नेताहरू समाजसेवाको बर्को फालेर देशको विशिष्ट वर्गमा बदलिँदै गएका छन् ।
पटकपटक कार्यकारी भूमिकामा पुग्दा आफ्नै उपचारका लागि पनि एउटा गतिलो अस्पताल नेताहरूले किन नबनाएका ? अझ तिनैलाई विदेशमा उपचार गर्न जनताको करबाट रकम खर्च गर्ने ?
‘नयाँ पत्रिका’ झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । नेपालको वाम र लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान छ । त्यो योगदानको मर्यादा राख्न पनि उहाँले आफ्नो उपचार खर्च व्यहोर्नुपर्छ ।
उहाँले सक्नुहुन्न भने उज्ज्वल थापाको उपचारमा जस्तै पार्टी वा शुभचिन्तकहरू अघि सर्नुपर्छ । जीवनजलसम्म नपाएर बर्सेनि हजारौँ नागरिकको ज्यान जाने गरिब देशले नेताविशेषको विदेशमा उपचारको जिम्मा लिँदैन, लिनुहुँदैन ।