कोरोनाका कारण श्रीमान्-श्रीमतीको एकै दिन मृत्यु

शुक्रबार, २५ असार, २०७८
डिजिटल संस्करण

कोरोना संक्रमणका कारण इलाममा एकै दिन श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका– ५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको कोरोनाका कारण मृत्यु भएको हो ।  

श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो । लावती परिवारका सातजनामा कोरोना संक्रमण पुष्टि भएकोमा दुईजनाको निधन भएको हो ।

एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै त्रास फैलिएको छ । स्थानीय रेडियो माङ्सेबुङका स्टेसन मेनेजर रहेका छोरा सुमन लावतीसमेत भाइरस संक्रमणका कारण होमआइसोलेसनमा छन् ।  

६ दिनअघि उनीहरूलाई संक्रमण पुष्टि भएको थियो । संक्रमित सबै होमआइसोलेसनमा थिए । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाति कोरोना संक्रमित रहेको बताइएको छ । 

स्थानीयवासी राम योङहाङका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ । इलाममा बिहीबार थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै जिल्लामा संक्रमितको संख्या दुई हजार एक सय ४४ पुगेको छ । 

संक्र्मितमध्ये एक हजार सात सय २१ जना निको भइसकेका छन् भने ५२ जनाको यसअघि नै निधन भइसकेको थियो । जिल्लाभर तीन सय ७१ सङ्क्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।  

दश स्थानीय तह रहेको इलाममा सबैभन्दा बढी इलाम नगरपालिकामा ६७५ संक्रमित छन् भने सबैभन्दा कम फाकफोकथुम गाउँपालिकामा ५५ जना मात्र संक्रमित रहेका छन् । हाल गाउँगाउँमा संक्रमण बढ्दै गएपछि जिल्लावासी त्रसित बन्दै गएका छन् । सवारी सञ्चालन र लकडाउन खुकुलो भएसँगै आवतजावत वृद्धि भएपछि संक्रमण बढ्न थालेको हो ।     

See More On

सुझावित समाचार