जुम्लाको सदरमुकाम खलंगादेखि पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका– ५ देपालगाउँ सिल गरिएको छ । कोरोना संक्रमितको संख्या बढेपछि देपालगाउँ सिल गरिएको हो ।
कोभिड– १९ को अवस्था पहिचान एवं रोकथाम तथा नियन्त्रण गर्ने क्रममा गुठीचौर गाउँपालिका– ५ देपालगाउँमा अधिक मात्रामा संक्रमण देखिएको हुँदा कन्ट्याक्ट ट्रेसिङ नहुन्जेलसम्म जिल्ला सुरक्षा समितिको १४ असारको निर्णयअनुसार सिल गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।
विनाकाम घरबाहिर ननिस्कने, अनिवार्य माक्सको प्रयोग गर्ने, साबुनपानी, स्यानिटाइजरले हात सफा गर्नुका साथै न्यूनतम दुई मिटरको भौतिक दूरी कायम गर्ने जारी आदेशमा उल्लेख गरिएको छ ।
सिल भएकाे वडाबाट अर्काे वडामा आवतजावत नगर्न भनिएको छ । आदेश उल्लंघन गर्ने जोकोही व्यक्तिलाई कोभिड– १९ संक्रमण व्यवस्था आदेश, २०७८ र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गर्ने आदेशमा उल्लेख गरिएको छ ।
गुठीचौर गाउँपालिकाभित्रका तीनजना व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।