माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा गर्दै समयानुकूल परिमार्जन गर्ने उद्देश्यको जगमा पाँचदलीय गठबन्धन सम्भव भएको बताएका छन् । बिहीबार सम्पादकहरूसँगको छलफलमा प्रचण्डले विपक्षी दलहरूबीचको गठबन्धन सैद्धान्तिक, व्यावहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई समेटेर बनाइएकाले लामो समयसम्म सँगसँगै जान सक्ने बताए ।
उनले संविधानको रक्षा गर्दै समयानुकूल परिमार्जन गर्दै लैजाने उद्देश्यमा केन्द्रित रहेर गठबन्धन बनेको बताए । अहिलेको संघर्ष प्रधानमन्त्री कसलाई बनाउने भन्ने नभई राष्ट्रको हितको पक्षमा उभिने र नउभिनेबीचको रहेको उनले जिकिर गरे । उनले ०४६ र ०६२–०६३ मा लोकतन्त्रवादी र वामपन्थीको मिलेमतोमा आन्दोलन सफल भएको उल्लेख गर्दै अहिले पनि केपी ओलीको निरंकुशताले लोकतन्त्रवादी र वामपन्थीलाई एकै ठाउँमा ल्याइपु¥याएको बताए ।
उनले भने, ‘सैद्धान्तिक, व्यावहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई पनि समेटेर जानुपर्छ भन्ने निष्कर्षसहित गठबन्धन अगाडि गएको छ । यो गठबन्धन कुनै अवसरवादी गठबन्धन होइन । प्रधानमन्त्रीको निम्ति भएको संघर्ष पनि होइन । यो संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिनेबीचको लडाइँ हो । सिस्टम बचाउने वा नबचाउने भन्नेबीचको लडाइँ हो ।’
प्रचण्डले सर्वोच्च अदालतमा आफूहरूको कुनै सेटिङ नभएको पनि बताए । मन्त्री नियुक्ति बदर गर्ने सर्वोच्चको फैसलाअघि आफूले बोलेको कुरालाई सेटिङ भन्दै टिप्पणी गरिएको भन्दै उनले आफूहरू सेटिङ गरेर शासन गर्नेवाला नभएको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले न्यायाधीश र राज्यका अन्य निकायलाई प्रभावमा राख्ने प्रयास गरेको उनले जिकिर गरे । राष्ट्रपतिले आफ्नो मान, सम्मान गुमाएको पनि उनको भनाइ छ । सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले एमसिसीको सम्बन्धमा संसदबाट सहमति गराएर राष्ट्रिय हितअनुकूल अगाडि बढाउने बताए ।