बलात्कृत युवतीको जाहेरी प्रहरीमा दर्ता

सोमबार, २४ जेठ, २०७८
डिजिटल संस्करण

 विवाह गर्ने प्रलोभनमा बलात्कारमा परेकी सुनसरी इटहरीकी २४ वर्षीया ममता शर्मा (परिवर्तित नाम)को जाहेरी प्रहरीले दर्ता गरेको छ । बलात्कृत युवतीको मेडिकल रिपोर्ट पोजेटिभ आएपछि सिराहास्थित इलाका प्रहरी कार्यालय लहानले आइतबार जाहेरी दर्ता गरेको हो । 

दुई दिनदेखि प्रहरीले विवाहसम्बन्धी विषय भन्दै युवतीको जाहेरी दर्ता गर्न मानिरहेको थिएन । इप्रका लहानका प्रमुख डिएसपी डा. तपन दाहालले जाहेरी दर्ता भएको जानकारी दिए । ‘युवतीको मेडिकल रिपोर्ट पोजेटिभ आएको छ । मुद्दा दर्ता भइसकेको छ । सबै प्रक्रिया अब कानुनअनुसार अघि बढ्छ,’ उनले भने ।

सिराहा लहान नगरपालिका–६ का २७ वर्षीय विजयकुमार साहले विवाहको प्रलोभन देखाउँदै आफूलाई रातभर बलात्कार गरेको भन्दै पीडित युवती शुक्रबार दिउँसो ४ बजे इप्रका लहानमा जाहेरी दर्ता गर्न पुगेकी थिइन् । तर, प्रहरीले बलात्कार नभई विवाहसम्बन्धी विवाद रहेको भन्दै जाहेरी दर्ता गर्न मानेको थिएन ।

पीडितका अनुसार विवाह गर्ने प्रलोभन देखाउँदै साहले गत बिहीबार बिहानै युवतीलाई इटहरीबाट लहान आउन भनेका थिए । निषेधाज्ञाका कारण सवारीसाधन नचलेपछि शर्मा इटहरीमै अड्किएर बसेकी थिइन् । साहले पटक–पटक आउन आग्रह गरेपछि मोटरसाइकलमा लिफ्ट मागेर उनी बिहीबार दिउँसो ३ बजे लहान पुगेकी थिइन् । त्यसपछि साहले युवतीलाई नजिकैको इस्टपोल नामको गेस्ट हाउसमा लगेर राखेका थिए । सोही गेस्ट हाउसमा साहले रातभर बलात्कार गरेको पीडितको भनाइ छ । उनका अनुसार गेस्ट हाउसको कोठामा लगेपछि साहले मोबाइल फोन खोसेका थिए । सोही कारण रातभर डराएर बसेको र पीडा कसैसँग भन्न नसकेको उनको भनाइ छ । 

प्रहरीले पीडित युवतको जाहेरी दर्ता गरे पनि घटनामा संलग्न साहलाई भने पक्राउ गरेको छैन । महिला अधिकारवादी ललिता दासका अनुसार अभियुक्त साह गाउँमै खुलेआम हिँडिरहेको र पीडितलाई पटक–पटक फोन गरेर धम्काइरहेको बताइन् । ‘प्रहरीले पीडितको जाहेरी दर्ता गरेको भनेको छ । तर, अभियुक्तलाई अझै पक्राउ गरेको छैन । अभियुक्तले मसहित पीडितलाई फोन गरेर धम्काइरहेको छ । मिल्न भन्दै विविध प्रलोभन देखाइरहेको छ । प्रहरीले किन पक्राउ गरेको छैन, बुझ्न सकिएको छैन,’ दासले भनिन् ।
 

सुझावित समाचार