सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानुन कार्यान्वयनमा जोड

मंगलबार, १८ जेठ, २०७८
डिजिटल संस्करण

‘सुर्तीजन्य कुलत त्याग्ने प्रतिज्ञा गर्नुहोस्, कुलत त्याग्नेहरू नै वास्तविक विजेता हुन्’ भन्ने नाराका साथ सोमबार विश्व धुमपानरहित दिवस मनाइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, एक्सन नेपाल र द युनियनको संयुक्त आयोजनामा भएको भर्चुअल अन्तक्र्रियामा सरोकारवालाहरूले नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थ भएको र त्यसको न्यूनीकरणमा कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । 

पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले सुर्ती नियन्त्रणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा प्रयोगमा नियन्त्रण आउन नसकेको बताए । उनले कानुन कार्यान्वयन गर्ने सरकारी निकायका प्रतिनिधिहरू सुर्ती उद्योगको प्रभावमा परेको आशंका गरे । विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले जनस्वास्थ्यमा हानि गर्ने सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानुन कार्यान्वयन गर्नैपर्नेमा जोड दिइन् । उनले पछिल्लो समय सुर्तीजन्य पदार्थको प्रयोगलाई कतिपयले सानको रूपमा लिने गरेको भन्दै यसलाई निरुत्साहित गर्नुपर्ने बताइन् । 

सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव रामकृष्ण सुवेदीले आफू काठमाडौं प्रमुख जिल्ला अधिकारी हुँदा सुर्ती नियन्त्रणसम्बन्धी कानुन कार्यान्वयन गराउन खोज्दा उल्टै कानुनी झमेलामा फसेको र त्यसवेला स्वास्थ्य मन्त्रालयको समेत अपेक्षित साथ नपाएको आरोप लगाए ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमकी डिन प्रा.डा. दिव्यासिंह शाहले सुर्तीजन्य पदार्थ जनस्वास्थ्यका लागि एकदमै हानिकारक वस्तु रहेको भन्दै यसको प्रयोग नियन्त्रण गर्न सबै क्षेत्रको उत्तिकै दायित्व भएको बताइन् । द युनियन एसिया प्यासिफिक क्षेत्रका निर्देशक डा.तारासिंह बमले सुर्ती नियन्त्रणसम्बन्धी कानुन उत्कृष्ट बनाएको नेपालले कार्यान्वयनमा फितलोपना देखाएको बताए । 

एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सुर्ती उद्योगीहरूले पछिल्लो समय सार्वजनिक महत्वका व्यक्तिहरूलाई समेत आफ्नो प्रभावमा पार्ने र उनीहरूमार्फत गैरकानुनी कार्य गराउने कोसिस गरेको बताए । उनले कानुनले स्पष्ट निषेध गरेको डोनेसन लिन नपाउने कार्यलाई योबीचमा सार्वजनिक जीवनमा उच्च ओहोदामा रहेका व्यक्तिमार्फत दिलाउन खोजेको, कोरोना महामारीकाबीचमा प्रदेश सरकार र संघीय अस्पतालहरूमा डोनेसन बाँडिरहेको बताए ।

सुझावित समाचार