उज्ज्वल अभियन्ताको स्वास्थ्य लाभको कामना गर्दै सिंगो देश

मंगलबार, १८ जेठ, २०७८
डिजिटल संस्करण

नागरिक जागरणका प्रतीक तथा वैकल्पिक राजनीतिका अभियन्ता उज्ज्वल थापाको स्वास्थ्यलाई लिएर देश–विदेशबाट नेपाली समुदायले असाधारण सद्भाव देखाएको छ । विगत केही दिनदेखि सामाजिक सञ्जालमा उनको स्वास्थ्यलाभको कामना गर्दै हरेकदिन सयौँ ‘पोस्ट’ आइरहेका छन् । कलाकार, राजनीतिज्ञ, साहित्यकारदेखि धेरैले उनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । उपचारका लागि सहयोग गर्नेहरूको पनि कमी छैन । स्वतस्फुर्त रूपमा थापाको स्वास्थ्य उपचारका लागि देश–विदेशबाट आर्थिक सहयोग पनि जुटेको छ । अत्याधुनिक प्रविधिबाट उपचार गराउनुपर्ने देखिएपछि परिवारको सहमतिमा आर्थिक सहयोग जुटाउने अभियान चलाइएको थियो । 

युवापुस्ता उनीबाट बढी प्रभावित देखिन्छन् । असहमतिका मुद्दाको विरोधमा तोडफोड र नारा–जुलुसको परम्परालाई तोड्दै उनले विरोधको नयाँ शैली निकालेका थिए । जसले समाजका बौद्धिक वर्ग र युवायुवतीलाई आकर्षित गरेको थियो । त्यही कुरा अहिले उनको स्वास्थ्यलाई लिएर चासोमा व्यक्त भएको छ । 

उनी प्लेकार्ड बोकेर आन्दोलनमा उत्रे । समाजका बेथितिमाथि प्रश्न गरे । सत्तालाई हरेक दिन खबरदारी गरे । तर, शान्तिपूर्ण तरिकाले, छातीमा प्लेकार्ड टाँसेर, सडकछेउमा उभिएर । आन्दोलनमा उनी ढुंगामुढा गर्न तम्सिएनन् । कुटपिट गर्न अघि सरेनन् । सडक बन्द गर्न गएनन् । बन्दको विरोध गर्न ०६८ सालतिर उनले ‘नेपाल खुला छ’ भन्ने अभियान चलाए । पछिसम्म पनि उनी बन्दको दिनमा ‘नेपाल खुला छ’ भन्दै सडकमा उत्रिएको देखिन्थ्यो । उनको यही शैलीले हो, अहिले स्वास्थ्यलाभको देशविदेशबाट भएको कामना । 

पहिलो संविधानसभा विघटन हुनुपूर्व उनले धेरैको ध्यान खिचे । विभिन्न माग राख्दै सडकमा आन्दोलन भइरहेको समयमा उनलाई आन्दोलनकारीकै रूपमा मानिसले फरक ढंगले देख्ने मौका पाए । त्यतिवेला उनी र उनका साथीभाइ सडककिनारामा उभिएर सभासद्हरूसँग संविधान माग्थे । ‘ज्याला पूरा लियौ, अब संविधान देऊ !’ जस्ता नारा लेखिएको प्लेकार्ड उनको छातीमा टाँसिएको हुन्थ्यो । 

यसबारे थापाले आफ्नै वेबसाइट ‘ह्वाइनेपाल’मा लेखेका छन्, ‘सन् २०११ मा ‘परिवर्तनको लागि हामी नेपाली एक’ वा ‘नेपाल युनाइट्स’ भन्ने नागरिक अभियान स्थापना गर्न धकेल्यो । नेपाल युनाइट्सले समाजका विभिन्न नागरिक अगुवाहरू र गैरराजनीतिक युवाहरूलाई एकै ठाउँमा लिएर आयो र देशको राजनीतिलाई हल्लायो । ‘ज्याला पूरा लियौ, अब संविधान देऊ’ भन्ने नारा बोकी खुब दबाब दिइयो । त्यसपछि पनि उनी निरन्तर सडकमै थिए । 

सरकारले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि पनि उनी सडकमा आए, प्लेकार्ड बोकेर । ‘बृहत् नागरिक आन्दोलन’ले गरेका विभिन्न कार्यक्रममा पनि उनले सहभागिता जनाए ।

कुनै वेला विवेकशील नेपाली दलका संयोजकसमेत रहेका थापालाई सडकमै देखिन्थ्यो । त्यसकारण पनि उनलाई धेरैले सरल र इमानदार राजनीतिज्ञका रूपमा चिने । र, आफ्नो मुद्दाको सहयात्रीका रूपमा लिए । ०७२ को भूकम्पमा उनी र उनको समूह देखिने गरी सहयोगमा जुट्यो । 

नेपाली राजनीतिमा सधैँ उठ्ने विषय हो, नेतृत्व हस्तान्तरण । तर, कमै अभ्यास हुन्छ । दलका नेताहरू आफूले ओगटेको पद छाड्न तयार छैनन् । नयाँ पुस्तालाई निर्णायक तहमा ल्याउन उनीहरूको चासो छैन । अहिलेका ठूला दलमा हेर्ने हो भने नेतृत्व तहमा विगत ३०/४० वर्षदेखि एउटै अनुहार हाबी छ । तर, थापा फरक रूपमा प्रस्तुत भए । नेतृत्वको होडबाजीमा उनले सहजै नेतृत्व हस्तान्तरण गरेर अर्काे उदाहरण प्रस्तुत गरेका थिए । 

उनी विवेकशील नेपालीको संस्थापक अध्यक्ष थिए । गत साल उनले आफू नेतृत्वमा नबस्ने घोषणा गरे । नयाँ पुस्तालाई ठाउँ उपलब्ध गराउनुपर्ने उनको तर्क थियो । त्यसपछि नै नयाँ अध्यक्षका रूपमा आएका थिए, मिलन पाण्डे । नेतृत्व हस्तान्तरणपछि थापाले त्यतिवेला सार्वजनिक कार्यक्रम र मिडियामा समेत भनेका थिए, ‘मैले सकेजति गरेँ । अब, अझ जुझारु, अझै ऊर्जाशील नेतृत्व अगाडि आओस् ।’

एउटा वैकल्पिक शक्ति बनाउने भनेर थापालगायतको समूहले विवेकशील नेपाली दल खोलेको थियो । यो दल संविधानसभाको दोस्रो निर्वाचनलगत्तै २९ जेठ ०७१ मा निर्वाचन आयोगमा दर्ता भएको थियो । यो पार्टीले संगठन ठूलो बनाउन सकेन, तर कार्यशैली र मुद्दा उठानको कोणबाट पहिचान देश–विदेशमा बनायो । 

राजनीतिप्रति उनी विशेषगरी ०६९ सालपछि जोडिएका थिए । ०६४ सालको संविधानसभाले संविधान नबनाई ०६९ सालमा भंग भयो । मुलुक शून्यताको स्थितिमा पुग्यो । संविधान नबनेको र संविधानसभा पनि भंग भएको स्थितिमा जताततै अन्योल छाएको थियो । राजनीतिमा वैकल्पिक शक्तिको रूपमा उदाउनुपर्छ भन्ने मान्यतामा त्यही वेला थापा, सन्तोष प्रधानलगायतका अभियन्ताले एउटा समूह बनाएका थिए ।

पहिलो संविधानसभा विघटन भएपछि दोस्रो संविधानसभाको निर्वाचन हुने भयो । उनीहरूको समूह चुनाव लड्न तयार भयो । स्वतन्त्र उम्मेदवारको रूपमा उनीहरूले कुकुर चिह्न लिए । काठमाडौं– ५ बाट थापा आफैँ, ४ बाट सन्तोष प्रधान, १ बाट गोविन्द नारायण र ८ बाट पुष्कर बमले उम्मेदवारी दिए । तर, उनीहरूको समूहबाट कसैले पनि चुनाव जितेन । त्यतिवेला थापाले तीन हजार मत मात्रै प्राप्त गरेका थिए ।

थापाले ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि भाग लिएका थिए । त्यतिवेला उनले नेतृत्व गरेको विवेकशील र रवीन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी एकता भइसकेको थियो र विवेकशील साझा पार्टी बनेको थियो । यही पार्टीबाट उनले एमालेका महासचिव ईश्वर पोखरेल र कांग्रेस महामन्त्री नेता प्रकाशशरण महतसँग प्रतिस्पर्धा गरे, काठमाडौं– ५ मा । तर, पुनः पराजित भए ।

थापा राजनीतिमा मात्रै होइन, डिजिटल प्रविधिमा पनि चाख राख्ने व्यक्ति हुन् । ०६० मा डिजिटल म्याक्स सलुसन्स (डिएमएस) भन्ने सूचना प्रविधिमा आधारित घरेलु उद्योग नै खोलेका थिए उनले । आफ्नो कम्पनीबारे थापाले लेखेका छन्, ‘यस कम्पनीले देशको अर्थतन्त्रलाई खासै ठूलो योगदान पु¥याउन सकेको छैन, नेपालमा सूचना प्रविधिको उद्योग स्थापना गर्न र फस्टाउन ठूलो मद्दत पु¥याएको छ । सयौँ नेपाली युवालाई पहिलो रोजगार दियो जसले गर्दा पछि उद्यमी बनाउन पनि मद्दत गरेको छ ।’ थापा ‘नेपालका लागि उद्योगी’ भन्ने सञ्जाल निर्माणमा पनि सक्रिय थिए । यो उद्योगीहरूको मञ्च थियो जसले एक–अर्कालाई सहयोग गथ्र्याे ।

आफँैमाथि थापाको मूल्यांकन छ– मलाई फरक–फरक क्षेत्रमा हात हाल्न मन पर्छ । उनले लेखेका छन्, ‘म एक्सपेरिमेन्ट (अनुसन्धान) गरिरहन्छु । एउटै कुरा जिन्दगीभर गरिरहन सक्दिनँ म । त्यसैले होला चाहे त्यो कफीखेतीतिर होस्, वा पर्यटकहरूलाई नेपालमा मद्दत हुने लेखहरू लेखेर होस् वा मानिसलाई उत्प्रेरित गर्ने कार्य गरेर होस् वा सूचना प्रविधिमा लागेर होस्, म ठाउँ–ठाउँमा हात हालिरहन्छु ।’ 

उनी पाँच वर्ष अमेरिका पनि बसे । नेपालमा कक्षा १२ को पढाइ सकेर छात्रवृत्तिमा एस्ट्रो फिजिक्स पढ्न गएका थिए । खगोल तथा भौतिक विज्ञान पढ्न गएका उनी झन्डै भिक्षु बनेर फर्केका थिए । भिक्षु संगठन नभेटेपछि त्यो रहर पूरा भएन । र, नेपाल फर्किएका थिए । 

राजधानीको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको स्वास्थ्य अवस्था ‘गम्भीर’ छ । विवरणअनुसार उनको इसिएमओ विधिबाट उपचार भइरहेको छ । भेन्टिलेटर मात्र पर्याप्त नहुने बिरामीका लागि यो विधि प्रयोग गरिन्छ । उतारचढावपूर्ण जीवनयात्रा गरेका थापा अहिले जीवनको सबैभन्दा ठूलो संघर्षमा छन्, स्वास्थ्यकर्मीको साथ मात्र होइन, सिंगो देशको सद्भाव पनि उनीसँग छ ।

सुझावित समाचार